काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यकर्ता प्रशिक्षणका लागि आइतबार पोखरा जाँदैछन् ।
प्रचण्ड पोखरा पुग्ने भएपछि गण्डकी प्रदेशसभा स्थगित गरिएको छ । उनी आउने कार्यक्रमले सांसदहरू व्यस्त हुने भन्दै आइतबार १ बजेको संसद् बैठक भोलिपल्टलाई सारिएको हो ।
कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर संसद् बैठक स्थगित गर्ने निर्णय गरेको हो । ‘प्रचण्डको कार्यक्रम पोखरामा रहेछ । उहाँहरूसहित उच्च नेताहरू आउने भएपछि यहाँका सांसदहरू त्यतै व्यस्त हुनुहुन्छ,’ कानुन मन्त्री विन्दुकुमार थापाले भने, ‘सहमतिमै १ दिनका लागि बैठक स्थगित गर्ने निर्णय भयो ।’
सोमबारको बैठकमा विशेष र शून्य समयको कार्यसूची राखिएको छ भने बालबालिकाको अधिकार सम्बन्धी विधेयक छलफल गरेर पास हुनेछ । यसबाहेक २ वटा विधेयक संसद्मा टेबुल हुने थापाले बताए । माओवादीले सभागृहमा प्रदेशस्तरीय राजनीतिक वैचारिक प्रशिक्षण आयोजना गरेको छ ।
सोही कार्यक्रमलाई सम्बोधन गर्न प्रचण्ड सहित वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, देव गुरुङ, देवेन्द्र पौडेल, दिनानाथ शर्मा लगायत नेताहरू जाँदैछन् ।