काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । बैठक आइतबार दिउँसो ३ बजे बस्नेगरी बोलाइएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
उपप्रमुख रिजालका अनुसार महाराजगञ्जस्थित रोयल दरबार रेष्टे एण्ड भेन्युमा बस्नेछ । उक्त बैठक आगामी वैशाख ३० गते हुने स्थानीय तह चुनाव केन्द्रित हुने रिजालले बताए । आजको बैठकले हालै सम्पन्न केन्द्रीय कमिटीको तेस्रो बैठकबाट पारित निर्णयबारे ठोस कार्ययोजना बनाएर पार्टी पङ्क्तिलाई निर्वाचनमा परिचालन गर्ने योजना तय गर्नेछ ।
एमाले स्थायी कमिटीमा १९ पदाधिकारीसहित ४५ जना सदस्य छन् भने चार जना पदेन सदस्य रहेका छन् । चैत १० मा सम्पन्न एमालेको तेस्रो केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदनसहित चुनाव लक्षित ११ वटा एजेण्डा पारित गरेको थियो ।