काठमाडौं । युक्रेनमा रुसको हमलाबिच युक्रेनको रक्षा मन्त्रालयले अर्का एक ठुला रुसी अधिकारीको युद्धमा मृत्यु भएको दाबी गरेको छ ।
खेरसोनमा एक हमलाका बेला रुसी सेनाका लेफ्टिनेन्ट जनरल याकोव रेजान्त्सृवको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।
लेफ्टिनेन्ट जनरल याकोव रुसको ४९ औँ कम्बाइन्ड आर्मीका कमान्डर थिए । एक पश्चिमी अधिकारीका अनुसार युक्रेनमा मृत्यु हुने याकोव सातौँ जनरल र दोस्रो लेफ्टिनेन्ट जनरल थिए ।
रुसी सैनिकमा मनोबलको कमीका कारण वरिष्ठ अधिकारी फ्रन्ट लाइनमा पुगिरहेको बताइँदै छ । युक्रेनमा युद्ध सुरु भएदेखि अहिलेसम्म १,३५१ जवानको मृत्यु भएको रुसले दाबी गरेको छ । यस्तै, किभ र पश्चिम अधिकारीका अनुसार वास्तविक आँकडा त्योभन्दा पनि धेरै भएको बताइएको छ ।
युक्रेनको दाबी : यी रुसी जनरलको भयो मृत्यु
– याकोव रेजान्त्सेव : कमान्डर, ४९ औँ कम्बाइन्ड आर्मी
– आन्ड्रे मार्दविचेव : कमान्डर, ८ औँ कम्बाइन्ड आर्मी
– ओलेग मित्येव : कमान्डर, १५० औँ राइफल डिभिजन
– आन्द्रे कोलिएसनिकोव : कमान्डर, २९ औँ कम्बाइन्ड आर्मी
– विटली गेरासिमव : चीफ अफ स्टाफ, ४१ औँ कम्बाइन्ड आर्मी
– आन्ड्रेय सुखोवेत्स्की : डिप्टी कमान्डर, ४१ औँ कम्बाइन्ड आर्मी