logo

२०८१ माघ २ बुधबार

logo
  • बुधबार, २ माघ २०८१
  • पीएनजीलाई ३७ रनले हराउदै नेपाल फाईनलमा प्रवेश

    पीएनजीलाई ३७ रनले हराउदै नेपाल फाईनलमा प्रवेश

    1.5K
    Shares

    काठमाडौं । पपुवा न्यूगिनीलाई पराजित गर्दै नेपाल घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक टी–२० श्रृङ्खलाको फाइनलमा प्रवेश गरेको छ । ब्याटिङमा दीपेन्द्र सिंह ऐरी र बिहीबार नै डेब्यू गरेका खेलाडी आदिल अन्सारी अनि करण केसीले ह्याट्रिकसहित ५ विकेट लिएपछि बिहीबार कीर्तिपुरस्थित टीयू मैदानमा भएको खेलमा नेपालले पीएनजीलाई ३७ रनले हरायो ।

    करणले अन्तिम ओभरको दोस्रो, तेस्रो र चौथो बलमा लगातार विकेट लिए । टी–२० अन्तर्राष्ट्रियमा कुनै पनि नेपाली बलरले लिएको यो पहिलो ह्याट्रिक विकेट हो । सन् २०१४ मा बंगलादेशमा टी–२० विश्वकपमा पहिलो टी–२० अन्तर्राष्ट्रिय खेल खेलेको नेपालको यो ५०औं टी–२० अन्तर्राष्ट्रिय खेल हो । ऐतिहासिक खेलमा नेपालले शानदार जित हात पार्दै एक खेल अगावै श्रृङ्खलाको फाइनलमा समेत स्थान बनायो ।

    नेपालले पहिलो खेलमा पीएनजीलाई १५ रनले र दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । लगातार तीन खेल हारेको पीएनजीको भने फाइनल पुग्ने झिनो सम्भावना मात्र बाँकी छ । पीएनजीले शुक्रबार मलेसियासँग खेल्नेछ । फाइनल पुग्ने सम्भावना कायम राख्न पीएनजीले मलेसियालाई हरानुपर्नेछ । नेपालले लिगको अन्तिम खेल शनिवार मलेसियासँग खेल्नेछ ।

    नेपाली बलरले उत्कृष्ट प्रदर्शन गर्दा २०४ रनको लक्ष्य पछ्याएको पीएनजी १९.४ ओभरमा १६६ रनमा अलआउट भयो । पीएनजीका लागि चार्ल्स अमिनीले सर्वाधिक ६२ रन बनाए । यस्तै टोनी उराले ४३ र सेस बाउले २५ रन जोडे । नयाँ बल बलिङ गरेका करण केसीले उत्कृष्ट बलिङ गर्दा लक्ष्य पछ्याउने क्रममा पीएनजीले दुवै ओपनरलाई व्यक्तिगत एक रनमा गुमायो । लेगा सिएकालाई पहिलो ओभरमा करण केसीले आसिफ शेखबाट क्याचआउट गराए ।

    यो विकेटसँगै करणले टी–२० अन्तर्राष्ट्रियमा ५० विकेट पूरा गरे । यस्तै तेस्रो ओभरमा कप्तान असद भालालाई पनि करणले सोमपाल कामीबाट क्याचआउट गराउँदा पीएनजीले १३ ओभरमा २ विकेट गुमायो । त्यसपछि चार्ल्स अमिनी र टोनी उराले इनिङ्स सम्हाल्दै तेस्रो विकेटका लागि ८४ रनको साझेदारी गरे । सोमपाल कामीले यो साझेदारी तोड्दै दुवैलाई आउट गरे ।

    सोमपालले १२ औं ओभरामा ४३ रन बनाएका उरालाई आउट गरे । त्यसपछि १४औं ओभरमा अमिनीलाई आउट गरे । दुवैलाई कुशल भुर्तेलबाट क्याचआउट गराए । अमिनीले ४७ बल खेल्दै ९ चौका प्रहार गरे । त्यसपछि नोर्मन भानुअ र सेस बाउले पीएनजीको इनिङ्सलाई अघि बढाएका थिए । तर १८ औं ओभरमा अविनाश बोहराले दुवैलाई आउट गरेपछि पीएनजीले १५८ रनमा ६ विकेट गुमायो । अविनाशले १७ रन बनाएका भानुअलाई उक्त ओभरको दोस्रो बलमा दीपेन्द्र सिंह ऐरीबाट क्याचआउट गराए भने तेस्रो ओभरमा बाउलाई बोल्ड गरे ।

    रिले हेकुरे ७ रन बनाएर १९औं ओभरको अन्तिम बलमा बउट भए । उनलाई नेपालका कप्तान सन्दीप लामिछानेले करण केसीबाट क्याचआउट गराए । यस्तै अन्तिम ओभरमा करणले ह्याट्रिक विकेट लिए । उनले उक्त ओभरको दोस्रो २ रन बनाएका चाड सपरलाई रोहित पौडेलबाट क्याचआउट गराए । यस्तै तेस्रो बलमा सिमोन अटाइलाई बोल्ड गरे । चौथो बलमा नोसाइन पोकनालाई दीपेन्द्रबाट क्याचआउट गराए ।

    बलिङमा नेपालका लागि करण केसीले सर्वाधिक ५ विकेट लिए । सोमपाल कामी र अविनाश बोहराले ४ ओभरमा समान ३४ रन खर्चेर २–२ विकेट लिए । यस्तै कप्तान सन्दीपले १ विकेट लिए भने ४ ओभरमा ३७ रन खर्चिए । त्यसअघि दीपेन्द्र सिंह ऐरीले अर्धशतक प्रहार गरेपछि नेपालले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाएर २०३ रन बनाएको थियो ।

    चौथो नम्बरमा ब्याटिङ गरेका दीपेन्द्रले ३३ बल खेल्दै ३ चौका र ४ छक्का मद्दतमा सर्वाधिक ६६ रन बनाए । यसै खेलबाट टी २० अन्तर्राष्ट्रियमा डेब्यु गरेका आदिल अन्सारीले आक्रमक ब्याटिङ गर्दै ३१ रन बनाए । उनले ११ बल खेल्दै १ चौका र ३ छक्का प्रहार गरे । दीपेन्द्रले १९ औं ओभरको अन्तिम बलमा आउट हुनुअघि ४ ओभर ४ बलमा आदिल अन्सारीसँग मिलेर ७६ रनको साझेदारी गरेका थिए । यस्तै रोहित पौडेलले ४१, आसिफ शेखले ३८ र कुशल भुर्तेलले १७ रन जोडे ।

    ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले पावर प्लेमा ४४ रनको साझेदारी गर्दै नेपाललाई गतिलो सुरुवात दिलाएका थिए । तर सातौं ओभरको दोस्रो बलमै उक्त साझेदारी तोडियो । कुशल भुर्तेल २० बलमा १७ रन बनाएर आउट भए । आसिफ शेख दशौं ओभरमा आउट भए । आसिफले २९ बल खेल्दै ४ चौका र १ छक्का मद्दतमा ३८ रन बनाए । त्यसपछि रोहित पौडेल र दीपेन्द्रले नेपालको इनिङ्स अघि बढाए ।

    तेस्रो विकेटका लागि दीपेन्द्र र रोहितले ५१ रनको साझेदारी गरे । रोहितले २३ बल खेल्दै ४ चौका र २ छक्का मद्दतमा ४१ रन बनाए । चौथो विकेटका लागि दीपेन्द्र र आदिल अन्सारीले ७६ रनको साझेदारी गरे । दीपेन्द्र १९ औं र आदिल २० औं ओभरमा आउट भए । १९ औं ओभरमा ३२ रन जोडेको नेपालले अन्तिम ओभरमा ३ विकेट गुमाएर जम्मा ४ रन मात्र जोडेको थियो । बलिङमा पीएनजीका कबुअ मोरेअले ३, रिले हेकुरेले २ नोर्मन भानुअले १ विकेट लिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend