काठमाडौं । नेपाल आयल निगम र आन्दोलनरत राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच पेट्रोलियम पदार्थको बिक्री वितरण सहज बनाउने सहमति भएको छ ।
निगमको केन्द्रीय कार्यालय टेकुमा शनिबार भएको छलफलमा दुवै पक्षबीच सहमति जुटेको हो । समन्वय समितिले गत फागुन २३ मा निगम समक्ष पेट्रोलियम बिक्रेता कमिसन र एलपी ग्यासको ढुवानी भाडा समायोजनसम्बन्धी माग पेस गरेको थियो ।
छलफलबाट पेट्रोलियम बिक्रेता कमिसन र एलपी ग्यासको ढुवानी भाडा समायोजनसम्बन्धी मागको सम्बन्धमा सात दिनभित्र उचित निष्कर्ष निकाल्ने तथा अन्य पेट्रोलियम कारोबारसँग सम्बन्धित मागको सम्बन्धमा आगामी ज्येष्ठ १५ सम्ममा सक्ने सहमति भएको छ ।
आन्दोलनरत नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशन, नेपाल एलपी ग्यास उद्योग सङ्घ र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घले सार्वजनिक गरेका सबै विरोधका कार्यक्रमहरू आजैको मितिदेखि स्थगन गरी पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको ढुवानी तथा बिक्री वितरणको कार्यलाई यथावत् रूपमा सञ्चालन गर्ने सहमति भएको छ ।
पेट्रोलियम पदार्थका उपभोक्ताहरूलाई सहज र सरल ढङ्गले पेट्रोलियम पदार्थ उपलब्ध गराउन निगमका सम्पूर्ण डिपो कार्यालयहरू आइतबार बिहान ८ बजेदेखि नै सञ्चालन गरिने निगमले जनाएको छ । प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका गृहमन्त्री बालकृष्ण खाँणले पेट्रोलियम पदार्थको आपूर्तिमा उत्पन्न समस्या तत्काल समाधान गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका थिए ।
उनले आपूर्ति सचिव डा गणेशप्रसाद पाण्डे, नेपाल आयल निगमका कार्यवाहक महानिर्देशक वीरेन्द्र गोइत र नेपाल पेट्रोलियम डिलर्स एशोसिएशनका महासचिव विश्व अर्याललाई तत्काल समस्या समाधान गर्न निर्देशन दिएका थिए ।