काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अनुदान वा सस्तो ब्याजदरमा ऋण लिन सक्ने हो भने मात्र रेलमार्ग बनाउन सकिने बताएका छन् ।
आज काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाह उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले रेलमार्गमा लगानी गर्ने हो भने नेपालीहरू झन् समस्यामा पर्न सक्ने बताए । उनले व्यापार घाटा बढ्दो रहेकोले अहिलेकै अवस्थामा रेलमार्ग बनाउन गाह्रो हुने बताएका हुन् ।
‘यहाँ कुरा आयो, रेल त आवश्यकता छ । तर धेरै खर्च लाग्न सक्छ,’ प्रधानमन्त्री देउवाले भने, ‘कुनै दातृ राष्ट्रको अनुदान वा सस्तो ब्याजदरमा ऋण लिन सक्ने हो भने मात्र रेलवे बनाउन सकिन्छ । फाइदाजनक पनि हुन्छ ।’
नेपालमा व्यापारघाटा बढेकोले रेलमार्ग बनाउने जस्ता काम अहिले गर्न नसकिने देउवाको भनाइ थियो । ‘रेलमार्ग बनाएर थप समस्यामा पर्न हुन्न, व्यापार घाटा बढेको छ,’ उनले भने ।