काठमाडौं । पशुपति धर्मशालामा होटल सन्चालन गरेको बतास समूहले सरकारी टोलीलाई गेटमै रोकेको छ । सरकारी टोली धर्मशाला परिसरभित्र प्रवेश गर्न खोज्दा बतास समूहका प्रतिनिधिले गेट लगाइदिएका छन् । त्यसपछि सरकारी टोली गेट बाहिरै रोकिए ।
गेटभित्र प्रवेश गर्न खोज्ने र रोक्ने दुवै पक्षबिच गेटमा केहीबेर भनाभन समेत भयो । बतास समूहका प्रतिनिधिले कानुनी उपचारमा रहेकाले सर्वोच्चको अन्तिम फैसला कुर्न आग्रह गरेका थिए । तर सरकारी प्रतिनिधिहरुले भने आफूहरुले आफ्नो प्रपर्टी हेर्न पनि नपाउने भन्दै गेट खोल्न आग्रह गरेका थिए ।
सम्झौता अनुसार काम नभएको भन्दै कोषले १७ चैतमा बतास समूहले धर्मशाला भवनमा सञ्चालन गरेको होटल आनन्द प्रा.ली.सँग भएको सम्झौता भंग गर्ने निर्णय गरेको थियो ।
तर बतास समूहले कोषको पत्र बुझ्न मानेको थिएन । त्यसपछि गत सोमबार पशुपति क्षेत्र विकास कोषले होटल आनन्द सञ्चालन गरिएको पशुपति धर्मशाला भवन खाली गर्न सार्वजनिक सूचना निकालेको थियो । सूचनामा धर्मशालामा रहेका सरसामान हटाउन भनिएको छ ।
तर भवन खाली गरिएको छैन । सरकारी प्रतिनिधिसहितको टोली शुक्रबार होटलमा ताला लगाउन आएको भन्दै बतास समूहले गेटमै रोकेको हो ।