logo

२०८१ माघ २ बुधबार

logo
  • बुधबार, २ माघ २०८१
  • एमालेले ओलीको गृहनगर दमकमा आज मेयरको टुङगो लगाउने

    एमालेले ओलीको गृहनगर दमकमा आज मेयरको टुङगो लगाउने

    3.9K
    Shares

    काठमाडौं । नेकपा एमालेले शुक्रबार अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झपाको दमकमा मेयरका लागि उम्मेदवार सिफारिस गर्ने भएको छ । जिल्लाका १३१ वडामध्ये केही वडामा मात्रै सर्वसम्मत उम्मेदवार चयन भएपछि करिब १२९ वडामा एमालेले प्रतिस्पर्धाका आधारमा उम्मेदवार छान्ने भएको छ । 

    नेकपा एमाले दमक नगरकमिटीका एक नेताका अनुसार शुक्रबार बस्ने नगर कमिटीको बैठकले मेयरका उम्मेदवार छानेर माथिल्लो कमिटीलाई सिफारिस गर्नेछ । दमकको मेयरको उम्मेदवारका आकांक्षी तीन जना भएपनि वर्तमान उपमेयर गीता अधिकारीलाई नै एमालेले अघि सार्ने सम्भावना रहेको छ । गीताको नाममा सहमति नजुटे भोटिङका आधारमा नाम तय गरिने बताइएको छ ।

    एमालेका अनुसार झापामा रहेका जम्मा १३१ वडामा सर्वसम्मत उम्मेदवार छान्ने प्रयास भएपनि त्यो सफल हुन नसकेको बताइएको छ । सर्वसम्मत उम्मेदवार तय गर्न नसकेपछि मतदानबाट १३१ मध्ये १२९ वडामा मतदानबाट उम्मेद्वार छान्ने तयारी भएको बुझिएको छ  ।

    दमक ओलीको गृहनगर भएकाले यो स्थानीय तहलाई सर्वाधिक चासो र हटसिटका रुपमा लिइएको छ । १० वटा वडा रहेको यो नगरपालिकामा यसअघि मेयर र उपमेयर दुवैमा एमालेले जितेको थियो । त्यसमध्ये एमालेले ८ वडा जितेको थियो भने राप्रपाले २ वडामा जित हासिल गरेको थियो । यो नगरपालिकामा काँग्रेस र माओवादीले भने कुनैपनि वडाध्यक्ष जितेका थिएनन् । 

    अघिल्लो चुनावमा मेयरका प्रतिस्पर्धामा राप्रपाका राम थापा दोस्रो भएका थिए भने माओवादीका गगन पुरी तेस्रो र काँग्रेस उम्मेदवार चौथो भएका थिए । विगतको समग्र मत परिणाम हेर्दा दमकमा काँग्रेस दोस्रो स्थानमा देखिन्छ तर मेयर पदमा राप्रपाका राम थापा व्यक्तिगत भोटका आधारमा दोस्रो स्थानमा छन् । 

    झापा जिल्लामा नगरपालिका र पालिका गरी १५ वटा स्थानीय तह छन् । जिल्लाभरको तथ्यांकअनुसार यसअघि २०७४ को निर्वाचनमा ७८ वडामा एमालेले जितेको थियो भने काँग्रेस ३९, राप्रपा ७, माओवादी ६ र स्वतन्त्रका १ उम्मेदवारले जितेका थिए ।

    त्यस्तै १५ पालिकामध्ये सातमा एमालेले प्रमुख जितेको थियो भने काँग्रेसले ५ र राप्रपाले ३ पालिकामा जितेको थियो । त्यसैगरी उप्रमुखतर्फ एमालेले १२, काँग्रेसले २ र राप्रपा १ जितेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend