काठमाडौं । स्थानीय तहको चुनावमा गठबन्धन गर्ने सत्ता गठबन्धनमा सहमति जुटेसँगै सुनसरीमा तालमेलको प्रक्रिया अघि बढेको छ । बुधबार मात्रै सत्ता गठबन्धनमा आवद्ध दलहरूले सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने निर्णय गरिसकेका छन् ।
वडातहसम्मै तालमेल गरेर चुनाव लड्ने तयारीमा रहेका सत्ता गठबन्धनमा आवद्ध दलहरू सुनसरीका स्थानीय तहको भागबण्डामा मिलाउन छलफललाई तीव्रता दिएका छन् । तर, सत्ता गठबन्धनबीच चुनावी तालमेल हुने भएपछि सुनसरीमा एमालेलाई गाह्रो पर्ने देखिएको छ ।
स्थानीयतहका प्रमुख÷उपप्रमुख जितेको आधारमा २०७४ सालको निर्वाचनमा सुनसरीमा कांग्रेस पहिलो, एमाले दोस्रो, विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) तेस्रो, उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी चौथो र माओवादी केन्द्र पाँचौँ शक्ति बनेका थिए । वडा जितेको आधारमा भने एमाले पहिलो भएको थियो ।
२०७४ को स्थानीय तह निर्वाचनमा १२ वटा स्थानीय तह रहेको सुनसरीमा कांग्रेसले ६, एमालेले तीन, तत्कालीन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) ले दुई र संघीय समाजवादी फोरमले एउटा स्थानीय तहमा प्रमुख जितेको थियो ।
त्यस्तै कांग्रेसले पाँच पालिकामा उपप्रमुख, एमालेले चार, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) ले दुई र संघीय समाजवादी फोरमले एउटामा उपप्रमुख जितेको थियो । सुनसरीका कुल १२४ वडामध्ये एमालेले ५५ वडा जित्दा कांग्रेसले ४६, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) ले १२, संघीय समाजवादी फोरमले ८, माओवादी केन्द्रले २ र एक जना स्वतन्त्र उम्मेदवारले वडाध्यक्ष जितेका थिए । निर्वाचनमा प्राप्त मतका आधारमा सुनसरीमा गठबन्धन नगर्दा पनि सत्ता गठबन्धनको प्रमुख दल कांग्रेस बलियो अवस्थामा देखिन्छ ।
कांग्रेसबाहेक गठबन्धनमा आवद्ध सवै दल विभाजित र टुट्फुटको अवस्थामा छन् । अन्य दल कांग्रेसको सहयोगबिना एक्लै लड्न सक्ने अवस्थामा छैनन् भने एमालेसमेत विभाजित भएकाले २०७४ सालको निर्वाचनभन्दा यतिबेला कांग्रेस थप बलियो अवस्थामा छ । त्यस्तै अघिल्लो निर्वाचनमा सुनसरीमा तेस्रो शक्ति बनेको तत्कालीन विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) अहिले कांग्रेसमा समाहित भएकाले कांग्रेसको शक्ति थपिएको छ ।
अघिल्लो चुनावको परिणाम अनुसार माओवादी केन्द्र सुनसरीमा निकै कमजोर अवस्थामा छ । एमाले विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादीको प्रभाव पनि चुनावमा पर्ने देखिन्छ । जसपाको सुनसरीको दक्षिणी क्षेत्रमा बलियो पकड छ । सत्ता गठबन्धन मिलेर जाने निर्णय गरेकाले सुनसरीमा एमालेलाई ठूलो धक्का लाग्ने निश्चित छ ।
प्रदेश १ का पूर्वमुख्यमन्त्री भीम आचार्यको गृहजिल्ला समेत रहेको सुनसरीमा यसपटकको निर्वाचन रोचक हुने देखिएको छ । सत्ता गठबन्धनमा चुनावी तालमेल गर्ने निर्णय भइसकेकाले एमालेलाई २०७४ सालमा जितेका स्थानीय तह र वडा जोगाउन मुस्किल देखिन्छ ।
तर, एमाले सुनसरी अध्यक्ष रेवतीरमण भण्डारी गत निर्वाचनभन्दा एमाले अझ बलियो अवस्थामा रहेको दाबी गर्छन् । ‘सुनसरीमा हामी पहिले भन्दा अहिले निकै बलियो अवस्थामा छौँ । हाम्रो मूल प्रतिस्पर्धी कांग्रेस हो । गठबन्धनका अरु शक्ति निकै कमजोर अवस्थामा छन् । अरु पार्टीलाई कांग्रेस कार्यकर्ताले बोकेर हिँड्छन् भन्ने लाग्दैन,’ उनले भने, ‘यो नेताहरूको गठबन्धन हो, मतदाताको होइन । पाँच दलीय गठबन्धन हुँदा एमालेलाई घाटा होइन, फाइदा नै हुन्छ । पहिलेभन्दा यसपटक अझै धेरै स्थानीय तह र वडाहरू जित्छौँ ।’
एमालेविरुद्ध गठबन्धन बनाएर अघि बढ्ने निर्णय भए पनि अहिले नै भागबण्डा लगायतका विषयमा सहमति जुटिनसकेको कांग्रेस सुनसरीका सचिव वीरेन्द्र साह बताउँछन् । ‘गठबन्धन बनाएरै अघि बढिसकेका छौँ । अब प्राविधिक विषय अध्ययन गर्दैछौँ,’ उनले भने, ‘वस्तुगत अध्ययन प्रतिवेदन आइसकेपछि अरु कुराहरू मिलाउँछौँ । हामी सुनसरीका सवै स्थानीय तह जित्छौँ ।’
अघिल्लो निर्वाचनमा माओवादी केन्द्रले जिल्लाभर दुईवटा वडा मात्र जित्न सफल भएको थियो । सो निर्वाचनमा माओवादी केन्द्रले एउटा पनि स्थानीय तहको प्रमुख÷उपप्रमुख जितेको थिएन । गत निर्वाचनमा माओवादी केन्द्र पाँचौँ शक्ति बनेको थियो । तर, गठबन्धन हुँदा यसपटक थप वडा र केही स्थानीय तह जित्ने माओवादी केन्द्र सुनसरीका अध्यक्ष योगेन्द्र मण्डल दाबी गर्छन् ।
‘गठबन्धन गर्दा हामी एक–दुई वटा स्थानीय तह जित्छौँ । वडाको संख्या पनि बढाउछौँ,’ उनले भने, ‘गठबन्धनमा गडबड नभए सुनसरीमा यसपटक एमालेको पत्तासाफ गर्छौं ।’ पार्टी विभाजित भए पनि तुलनात्मक रूपमा २०७४ सालभन्दा अहिले जसपा केही बलियो छ ।
सत्ता गठबन्धनमै रहेको जसपाले गठबन्धन बनेपछि सुनसरीमा पहिलेभन्दा बढी स्थानीयतह र वडाहरू जित्ने दाबी गरेको छ । जसपा सुनसरीका अध्यक्ष भगिरथ खत्वेले गठबन्धन भइसकेकाले निर्वाचनमा जसपाको पक्षमा राम्रो नजिता आउने दाबी गरे । ‘गठबन्धन गरेरै जाने पक्षमा निर्णय गरिसकेका छौँ । अब पहिलेभन्दा हाम्रो पक्षमा नतिजा एकदमै राम्रो आउँछ । हाम्रो पार्टीले कम्तीमा तीनवटा स्थानीय तह कन्फर्म जित्छ,’ उनले भने, ‘एमाले तेस्रो स्थानतिर झर्ने निश्चित छ ।’
एकीकृत समाजवादीका सुनसरी अध्यक्ष गोविन्द निरौलाले गठबन्धन बनेपछि सुनसरीमा एमाले आत्तिएको दाबी गरे । ‘हामी एक्लै पनि चुनाव लड्ने हिसाबमा अघि बढेका थियौँ । त्यो अनुसार हाम्रो तयारी पनि थियो । अब गठबन्धन भइसकेपछि सबै स्थानीय तह जित्ने कुरामा दुई मत छैन,’ उनले भने, ‘हामी वडातहसम्मै गठबन्धन गरेर जाँदैछौँ । कुन पालिका र वडा कसले लिने कुरा मात्र टुंगिन बाँकी छ ।’ उनले आगामी निर्वाचनमा एमालेले एउटा पनि वडा नजित्ने दाबी गरे ।
यस्तो थियो २०७४ को मतपरिणाम :
धरान उपमहानगरपालिका
कम्युनिस्टको ‘गढ’ मानिने धरान उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखसहित अधिकांश वडा एमालेले जितेको थियो । उपपमहानगर प्रमुखमा एमालेका उम्मेदवार तारा सुब्बा फराकिलो मतान्तरले विजयी भएका थिए । सुब्बाले २०,९७५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका तिलक राईले १६,१०२ मत प्राप्त गरेका थिए । माओवादी केन्द्रका आइन्द्र विक्रम बेघाले ११,१८० मत प्राप्त गरेका थिए ।
तर, उपपमहानगर प्रमुख सुब्बाको निधनपछि भएको उपनिर्वाचनमा एमालेले आफ्नो अस्तित्व जोगाउन सकेन । १४ मंसिर २०७६ मा भएको उपनिर्वाचनबाट कांग्रेसका तिलक राई विजयी भएका थिए । २०७४ निर्वाचनमा उपप्रमुखमा एमालेकी मञ्जु भण्डारी सुवेदी फराकिलो (६३३९) मतान्तरले विजयी भएकी थिइन् । उनले २१,२५६ मत प्राप्त गर्दा उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी श्यामा रेग्मीले १४९१७ मात्र मत प्राप्त गरेकी थिइन् । संघीय समाजवादी फोरमका पारस राईले ५१८१ मत ल्याएका थिए ।
धरानमा एमालेले ३, ४, ६, ७, ८, ९, १०, ११, १२, १३, १५, १६, १९, र २० नम्बर वडा जितेको थियो । कांग्रेसले १, २, ५, १४ र १८ नम्बर वडा जित्दा माओवादी केन्द्रले मुस्किलले १७ नम्बर वडा मात्र जित्न सफल भएको थियो ।
इटहरी उपमहानगरपालिका
इटहरी उपमहनगरपालिकाको प्रमुखमा एमालेका द्वारिकलाल चौधरी २२,६९८ मतसहित विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रोहित प्रसाद प्रसाईंले १९,९८५ मत प्राप्त गर्दा राप्रपाका रोहित बहादुर कार्कीले ३,७१५ र माओवादी केन्द्रका उम्मेदवार हरिमायाँ जिमिले ३,३६४ मत प्राप्त गरेकी थिइन् ।
उपप्रमुखमा एमालेकै लक्ष्मीकुमारी गौतम २१,८४२ मतसहित विजयी हुँदा उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी विमला शिवाकोटीले १८,३५२ मत प्राप्त गरेकी थिइन् । माओवादी केन्द्रका भीमप्रसाद सुवेदीले ४,८३१ र राष्ट्रिय प्रजातन्त्र पार्टीकी माया रायमाझीले ३,९१९ मत प्राप्त गरेका थिए ।
इटहरीमा एमालेले २, ४, ५, ९, १३, १४, १८ र १९ नम्बर वडा जितेको थियो । त्यस्तै कांग्रेसले १, ३, ६, ७, ८, ११, १२, १५, १६, १७, २० र फोरम लोकतान्त्रिकले १० नम्बर वडा जितेको थियो ।
इनरुवा नगरपालिका
०७४ को स्थानीय तह निर्वाचनमा सुनसरीको इनरुवा नगरपालिकाको प्रमुखमा कांग्रेसका राजन मेहता ११७४ मतान्तर (१०,९८७ मत) ले विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका पोष्टकुमार नेपालले ९८१३ मत ल्याएका थिए भने मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का मनोजकुमार मेहताले २६१५ मत पाएका थिए ।
अहिले गच्छदार नेतृत्वको फोरम कांग्रेसमा समाहित भएपछि तुलनात्मक रूपमा यो नगरपालिकामा कांग्रेस थप बलियो देखिन्छ । उपप्रमुखमा कांग्रेसकै जमुनादेवी गौतम (पोखरेल) १०९०६ मतसहित विजयी भएकी थिइन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी कवितादेवी यादवले ९१४९ मत प्राप्त गर्दा उपप्रमुखमा मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) की कुमारी मिरा पोखरेल (अधिकारी) ले २७६२ मत ल्याएकी थिइन् । माओवादी केन्द्रकी तोयादेवी गिरीले १०७५ मत प्राप्त गरेकी थिइन् ।
इनरुवा नगरपालिकामा एमालेले ३, ४, ५, ६, ९ र १० नम्बर वडा जितेको थियो । कांग्रेसले १, २, ७ र ८ नम्बर वडा जित्दा माओवादी केन्द्रसहितका अन्य दलले आफ्नो अस्तित्व बचाउन सकेका थिएनन् ।
बराह नगरपालिका
बराह नगरपालिकाको प्रमुखमा एमालेका निलम खनाल १४,४४६ मतसहित विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बाबुराम विष्टले ११,४८९ मत ल्याउँदा माओवादी केन्द्रका कलमबहादुर कटुवालले २७३८ मत प्राप्त गरेका थिए ।
उपप्रमुखमा पनि एमालेकी कमला मगर १४६०९ मतसहित विजयी भएकी थिइन् । उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी पूजा कुमारी धामीले ११,३५९ मत प्राप्त गर्दा माओवादी केन्द्रकी संगीता राईले २८८३ मत ल्याएकी थिइन् । बराहमा एमालेले ३, ४, ५, ७, ८, ९, १० र ११ नम्बर वडा जितेको थियो । कांग्रेसले १, २ र ६ नम्बर वडा जित्दा माओवादी केन्द्रले आफ्नो अस्तित्व जोगाउन सकेको थिएन ।
दुहवी नगरपालिकादुहवी नगरपालिकाको प्रमुखमा तत्कालीन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का वेदनाराय गच्छदार ७४२० मतसहित विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गौरीशंकर रौनियारले ५६१५ मत ल्याउँदा एमालेका विनयकुमार पोखरेलले ५१२५, माओवादी केन्द्रका अर्थलाल चौधरीले २२२६ र तत्कालीन संघीय समाजवादी फोरमका सरोजकुमार सिंहले १६४७ प्राप्त गरेका थिए ।
उपप्रमुखमा पनि मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) कै सुनिता दाहाल ६६८३ मतसहित विजयी भएकी थिइन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी चन्द्रकलादेवी विश्वासले ५८८१ मत प्राप्त गरेकी थिइन् । कांग्रेसकी कल्पना कार्कीले ५०६० मत प्राप्त गर्दा माओवादी केन्द्रकी रोजिना खातुनले २२१८ र तत्कालीन संघीय समाजवादी फोरमकी श्यामवतीदेवी उराँवनीले १७७० मत ल्याएकी थिइन् ।
दुहवी नगरपालिकामा एमालेले १, ३ र ४ नम्बर वडा जितेको थियो । कांग्रेसले २, ८ र ९, फोरम लोकतान्त्रिकले ५, ७, १०, ११, १२ र तत्कालीन संघीय समाजवादी फोरमले ६ नम्बर वडा जितेकव थियो ।
रामधुनी नगरपालिका
रामधुनी नगरपालिका प्रमुखमा कांग्रेसका जयप्रकाश चौधरी ९७०६ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका नन्दकुमार बस्नेतले ८८५० मत प्राप्त गरेका थिए । माओवादी केन्द्रका दिनेशकुमार चौधरीले १३६५ मत ल्याउँदा मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का केदारप्रसाद गेलाल ३७३ र संघीय समाजवादी फोरमका रामबहादुर खड्काले १५५ मत प्राप्त गरेका थिए ।
उपप्रमुखमा भने एमालेकी सविताकुमारी चौधरी ९७४२ मतसहित विजयी भएकी थिइन् । उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी विजया कटवालले ७९२६, माओवादी केन्द्रकी श्यामकुमारी साहले १३६७, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) की देवसरी चौधरीले ६४१, राष्ट्रिय प्रजातन्त्र पार्टीकी मिनाकुमारी कार्कीले ३१३ र संघीय समाजवादी फोरमकी सविना चौधरीले २१५ मत प्राप्त गरेका थिए । यो नगरपालिकामा एमालेले २, ५, ६, ७, ८ र ९ नम्बर वडा जित्दा कांग्रेसले १, ३ र ४ नम्बर वडा जितेको थियो ।
कोशी गाउँपालिका
कोशी गाउँपालिका अध्यक्षमा कांग्रेसका ऐयुव अन्सारी ४०७४ मतसहित विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका अजय कुमार कुसियतले २,७२३ मत ल्याउँदा, तत्कालीन संघीय समाजवादी फोरमका जितेन्द्र खेरबार २,७१६ र माओवादी केन्द्रका पञ्चनारायण मण्डलले ६२४ मत मात्र प्राप्त गरेका थिए ।
उपाध्यक्षमा कांग्रेसकै अनितादेवी यादव ३४१२ मतसहित विजयी हुँदा उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी पार्वतीदेवी उराँवले २,७३२, संघीय समाजवादी फोरमकी शिवकुमारी उराँवले २,४९९ र माओवादी केन्द्री सुनीतादेवी गोठियाले ७८९ मत मात्र प्राप्त गरेकी थिइन् । यो मतका आधारमा कोशी गाउँपालिकामा माओवादी केन्द्र निकै कमजोर देखिन्छ । कांग्रेसले २ र ३ नम्बर वडा जित्दा फोरम लोकतान्त्रिक ले ४ र ५, संघीय समाजवादी फोरमले ७ र ८, एमालेले ६ र स्वतन्त्र उम्मेदवारले वडा नम्बर १ जितेका थिए ।
गढी गाउँपालिका
गढी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका श्रीप्रसाद यादव ५०५२ मतसहित विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी तत्कालिन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का वीरनारायण चौधरीले ४०६४ मत ल्याउँदा एमालेका भद्रनारायण चौधरीले ३२८८, संघीय समाजवादी फोरमका हरिशंकर कुमार ६६१ र माओवादी केन्द्रका खगेन्द्र नारायण चौधरीले ६१९ मत प्राप्त गरेका थिए ।
उपाध्यक्षमा कांग्रेसकी राजकुमारी चौधरी ४८१९ मतसहित विजयी हुँदा उनकी निकटतम प्रतिद्वन्द्वी मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) की लालो थरुनीले ३६५५, एमालेकी रिभाकुमारी कर्णले ३३३१, संघीय समाजवादी फोरमकी अम्बिकादेवी यादवले ९१९ र माओवादी केन्द्रकी अनिताकुमारी सरदार ६८४ मत प्राप्त गरेका थिए ।
यो गाउँपालिकामा एमालेले १ र ३ नम्बर वडा जित्दा कांग्रेसले २, ५, ६ र फोरम लोकतान्त्रिकले ४ नम्बर वडामा बाजी मारेको थियो । गढी गाउँपालिकामा पनि माओवादी केन्द्रले एउटा पनि वडा जितेको थिएन ।
देवानगञ्ज गाउँपालिका
देवानगञ्ज गाउँपालिका अध्यक्षमा कांग्रेसका लाली प्रसाद मेहता ३६३० मतसहित विजयी हुँदा उनका निकटम् प्रतिद्वन्द्वी तत्कालीन संघीय समाजवादी फोरमका बेचनप्रसाद मेहताले ३२७२ प्राप्त गरेका थिए । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का श्यामलाल महतोले ३१३४ मतसहित तेस्रो स्थान हासिल गर्दा एमालेका सन्तोषकुमार भगत २८५७ मतसहित चौथो र माओवादी केन्द्रकी लक्ष्मीदेवी मेहता ६४३ मतसहित पाँचौँ भएकी थिइन् ।
उपाध्यक्षमा कांग्रेसकै पुनितादेवी यादव ४३५९ मतसहित विजयी भएकी थिइन् । उनकी निकटम प्रतिद्वन्द्वी मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का महमुदा खातुनले २८९६ मत ल्याउँदा संघीय समाजवादी फोरमकी सुकुनदेवी यादवले २८३५, एमालेकी जमुनाकुमारी मेहताले २५१४ र माओवादी केन्द्रका बेचन खत्वेले ९६४ मत प्राप्त गरेका थिए । देवानगञ्जमा कांग्रेसले २, ४, ५, ६ र ७ नम्बर वडा जितेको थियो ।
फोरम लोकतान्त्रिकले १ र संघीय समाजवादी फोरम ३ नम्बर वडा आफ्नो पोल्टामा पारेका थिए । यो गाउँपालिकामा वामपन्थी दुवै दल एमाले र माओवादी केन्द्रले भने आफ्नो अस्तित्व जोगाउन सकेका थिएनन् ।
बर्जु गाउँपालिका
बर्जु गाउँपालिका अध्यक्षमा तत्कालीन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का रघुनन्दन चौधरी ४७३४ मतसहित विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका फनिलाल चौधरीले ३६९२ र कांग्रेसका इसराइल अन्सारीले २६९५ मत प्राप्त गरेका थिए ।
उपाध्यक्षमा पनि मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) की संगीताकुमारी राय ४६२२ मतसहित विजयी भएकी थिइन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी सोमकुमारी गुरुङ रायले ३६६८ मत प्राप्त गर्दा कांग्रेसकी खुसरी थरुनीले २८६१ मत पाएकी थिइन् । बर्जुमा एमालेले ३ र ६ नम्बर वडा जितेको थियो । कांग्रेसले २ नम्बर वडा जित्दा माओवादी केन्द्रले १, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) ले ४ र ५ नम्बर वडा जितेको थियो ।
भोक्राह गाउँपालिका
भोक्राह गाउँपालिका अध्यक्षमा संघीय समाजवादी फोरमका महेन्द्रप्रसाद यादव ३५२८ मतसहित निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अजमल अख्तर मियाँले १९९३ र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का शत्रुघन प्रसाद यादवले १५०० मत प्राप्त गरेका थिए । एमालेका मोलिम मियाँले १४९२ मत प्राप्त गर्दा माओवादी केन्द्रका मुनिलाल महतोले ५८२ मत पाएका थिए ।
उपाध्यक्षमा पनि संघीय समाजवादी फोरमकी पुनम कुमारी मेहता ३३४३ मतसहित विजयी भएकी थिइन् । उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी अञ्जुदेवी मेहताले २३०५ मत ल्याउँदा एमालेकी रुक्मणीदेवी मेहताले १६३२, राष्ट्रिय प्रजातन्त्र पार्टीकी नुरसत बानोले ७६६ र माओवादी केन्द्रकी बसीरा खातुनले ६०० मत प्राप्त गरेकी थिइन् ।
भोक्राहमा एमालेले वडा नम्बर १, ५ र ८ नम्बर वडा जित्दा कांग्रेसले २ र ४, संघीय समाजवादी फोरमले ३, ६ र ७ नम्बर वडा जितेको थियो । यो पालिकामा माओवादी केन्द्रले एउटा वडा पनि जित्न सकेको थिएन ।
हरिनगरा गाउँपालिका
हरिनगरा गाउँपालिका अध्यक्षमा कांग्रेसका गफार अन्सारी मियाँ ५६५२ मतसहित विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी तत्कालीन संघीय समाजवादी फोरमका हेमनारायण मेहताले ३६३५ मत ल्याउँदा एमालेका लस्करी अन्सारीले २७४० र माओवादी केन्द्रका दिल महमद मियाँले ८८९ मात्र मत प्राप्त गरेका थिए । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का सुमन मेहता कोइरीले ३१९ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीकी लालसरी उराँव २०९ मतमा चित्त बुझाउन बाध्य भएकी थिइन् ।
उपाध्यक्षमा कांग्रेसकै रिमझिमकुमारी भगत ५०९६ मतसहित विजयी हुँदा उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी सुनितादेवी मेहताले २९७६ ल्याएकी थिइन् । संघीय समाजवादी फोरमकी ममतादेवी मेहताले २८४७, माओवादी केन्द्रकी मुन्नी कुमारी मेहताले १०६२, मधेसी जनअधिकार फोरम लोकतान्त्रिककी शान्तिदेवी राम चमारले ४३५ र राष्ट्रिय प्रजातन्त्र पार्टीका मुर्सिद आलम अन्सारीले २८० मत प्राप्त गरेका थिए ।
हरिनगराका ५ र ६ नम्बर वडा एमालेले जित्दा कांग्रेसले वडा नम्बर १, २, ४ र ७ नम्बर वडा जितेको थियो । संघीय समाजवादी फोरमले ३ नम्बर वडा मात्र आफ्नो पक्षमा पार्न सफल भएको थियो ।