काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले उद्योगी, व्यवसायीहरुलाई सधैं प्रोत्साहित गर्ने नीति लिन सरकारसँग आग्रह गरेका छन् । सभामुख सापकोटाले कुनै पनि राज्य व्यवसायबाट उन्नति र प्रगतिमा मात्रै जाने गरेको उल्लेख गर्दै राज्यले उनीहरुलाई सधैं प्रोत्साहित गर्ने नीति लिनुपर्ने स्पष्ट पारे ।
नेपाल चेम्बर कमर्शले आईतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकारले सबैलाई अभिभावकत्व दिने हो भने देशभक्तिको भावनामा सबैमा पलाउने र मुलुक समृद्ध हुने विश्वास समेत व्यक्त गरे । सभामुख सापकोटाले राष्ट्रलाई केन्द्रमा राखेर काम गर्न पनि सबैलाई आह्वान गरे । निष्ठापूर्वक सबैले आ–आफ्नो जिम्मेवारी पूरा गरे मुलुकले हरेक क्षेत्रमा सफलता प्राप्त गर्ने उनको भनाई थियो ।
कार्यक्रममा बोल्दै नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले मुलुकको अर्थतन्त्र बाहिर छापामा आएजस्तो डरलाग्ने नभएको स्पष्ट पारे । उनले मुलुकको अर्थतन्त्रलाई नयाँ ढंगले अघि बढाई त्यसमा सफलता हात पार्न सक्षम हुनेछौं भन्ने मान्यताका आधारमा काम गर्नुपर्ने आवश्यक्ता पनि औल्याए ।