काठमाडौं । नेपाली कांग्रेस पार्टीले एमसीसी सम्झौताको सम्बन्धमा जनतामा रहेको भ्रमलाई चिरेको बताएको छ । मंगलवार फागुन २९ गतेदेखि चैत्र २९ गतेसम्म चलेको पार्टीको ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको सम्बन्धमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अभियानका क्रममा एमसीसीको सम्बन्धमा जनतामा रहेको भ्रमलाई चिर्न सफल भएको बताएका हुन् ।
त्यसैगरी अभियानमा नेपाली कांग्रेसले गरेका विकास निर्माणको कामको सम्बन्धमा पनि जनतालाई बुझाएको उनले बताए । विगतमा कोभिड–१९ को बेलामा तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले भ्रष्ट्राचारका कारण कोभिडको व्यवस्थापन गर्न नसकेको भन्दै प्रवक्ता महतले कांग्रेस नेतृत्वको सरकार आएपछि खोपलाई व्यापकता दिन सकेको र कोभिड व्यवस्थापन गर्न सकेको कुरा जनतालाई स्पष्ट पारको पनि उनले उल्लेख गरे । ओली नेतृत्वको सरकारले गरेका गलत काम बारेपनि जनतालाई जानकारी गराउँदै कांग्रेस नेतृत्वको सरकारले गरेका राम्रा कामहरुको प्रचार गरिएको उनले बताए ।
प्रवक्ता महतले स्थानीय तह निर्वाचन नजिकिए पनि टिकटको तय गर्न प्राविधिक कठिनाइ भएको बताए । गठबन्धन र तालमेलका कारण टिकटको टुंगो लगाउन ढिलाइ भएको उनले बताए । स्थानीय परिस्थिति र आवश्यकता अनुसार गठबन्धनमा रहेका दलहरुसँग तालमेल गर्ने उहाँले स्पष्ट पारे ।