logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • ‘रुसी सैनिकले मेरो बलात्कार गरे र मेरो श्रीमानको हत्या गरिदिए’

    ‘रुसी सैनिकले मेरो बलात्कार गरे र मेरो श्रीमानको हत्या गरिदिए’

    9.6K
    Shares

    एजेन्सी । रुसको सेना अब युक्रेनको राजधानी किभबाट बाहिरिइसकेको छ । तर आफ्नो पछाडि उनीहरुले यस्तो जीवन छोडेर गएका छन् जो सायद यो आघातबाट कहिल्यै बाहिर निस्कन सक्दैनन् । बीबीसीको टिमले यस्ता थुप्रै महिलाको कुरा सुनेको छ र युक्रेनका महिलामाथि रुसी सैनिकले बलात्कार गरेको यस्ता थुप्रै प्रमाण भेटिएका छन् ।

    चेतावनीः यो रिपोर्टमा यौन हिंसासँग जोडिएका विचलित गर्ने खालका जानकारी छन् ।

    किभबाट पश्चिम दिशामा ७० किलोमिटर टाढा एक शान्त ग्रामिण इलाकामा हाम्रो भेट ५० वर्षीया एनासँग भयो । उनको पहिचान सुरक्षित राख्नका लागि उनको नाम फेरिएको छ ।

    एनाले अघिल्लो मार्च ७ तारिखमा उनी आफ्ना श्रीमानसँग घरमा बसिरहेका बेला विदेशी सैनिक उनको घरमा प्रवेश गरेको बताइन् ।

    उनी भन्छिन्, ‘उनीहरुले बन्दुक देखाएर मलाई नजिकैको घरमा लिएर गए । उनले मलाई ‘आफ्नो कपडा फुकाल नभए गोली हानिदिन्छु’ भनेर धम्की दिए । उनले मलाई उनको आदेश नमानेको खण्डमा मलाई मारिदिने भनेर बारम्बार धम्की दिइरहेका थिए । त्यसपछि उनले मेरो बलात्कार गर्न सुरु गरे ।’

    एनाका अनुसार उनीमाथि हमला गर्ने व्यक्ति एक युवा, दुब्लो–पातलो र रुसका थिए । उनी भन्छिन्, ‘जब उनले मेरो बलात्कार गरिरहेका थिए । यसैबीच चार अन्य सैनिक आए । त्यतिबेला मलाई म अब बाँच्दिन भन्ने लाग्यो । तर उनले तिनीहरुलाई बाहिर लिएर गए र मैले त्यसपछि उनलाई कहिल्यै देखिनँ ।’

    उनलाई रुसी सैनिकको अर्को समूहले उनलाई बचाएको उनी मान्छिन् । एना जब घर फर्किइन् तब उनले आफ्ना श्रीमानलाई घाइते अवस्थामा भेटिन्, उनको पेटमा गोली लागेको थियो । एना भन्छिन्, ‘उनी मलाई बचाउन मेरो पछाडि भागेका रहेछन् । तर उनलाई गोली हानियो ।’

    त्यसपछि एना र उनका श्रीमानले आफ्ना छिमेकीकोमा शरण लिए । तर बाहिर संघर्ष जारी भएका कारण एनाका श्रीमानलाई अस्पताल लैजान सकिएन । र त्यसको दुई दिनपछि उनको मृत्यु भयो । आफ्नो पीडादायी कहानी सुनाउँदै गर्दा एना लगातार रोइरहिन् । उनले हामीलाई आफ्नो घर पछाडिको त्यो स्थान देखाइन् जहाँ उनले आफ्नो छिमेकीको मद्दतले आफ्ना श्रीमानलाई गाडेकी थिइन् ।

    र यो समाधि स्थलको सिरानमा काठको एउटा ठूलो क्रस राखिएको थियो । एनाले आफू स्थानीय अस्पतालको सम्पर्कमा भएको र त्यहाँबाट मानसिक सहायता लिइरहेको बताइन् ।

    एनालाई बचाउने सैनिक केही दिनसम्म उनको घरमा बसे । उनका अनुसार यी सैनिकले उनलाई बन्दुक देखाएर उनका श्रीमानको सामानहरु दिन भन्ने गर्दथे ।

    उनी भन्छिन्, ‘जब उनीहरु यहाँबाट गए तब मैले ड्रग्स र भियाग्रा भेटेँ । उनीहरु धेरैजसो नसामा रहन्थे र तीमध्ये धेरैजसो हत्यारा, बलात्कारी र लुटेरा थिए । केही मात्रै ठिक थिए ।’

    बलात्कारपछि हत्याः

    एनाको घरभन्दा केही टाढा हामीले अर्को पीडादायी कहानी सुन्यौँ । यहाँ एक महिलालाई कथित रुपमा बलात्कारपछि हत्या गरियो । छिमेकीका अनुसार

    महिलाको बलात्कार र हत्या त्यहि व्यक्तिले गरे जसले एनाको बलात्कार गरेका थिए र एना घर पुग्नुअघि नै उनले यस्तो गरेका थिए ।

    छिमेकीका अनुसार यी महिलाको उमेर ४० वर्ष आसपास होला । उनलाई उनको घर नजिकै एक खाली घरको बेडरुममा लगियो । यो घरमा बस्नेहरु युद्ध सुरु भएपछि आफ्नो घर छोडेर गएका थिए ।

    निकै राम्रोसँग सजाइएको यो घरको यो असाध्यै राम्रो कोठा अहिलेसम्मको सबैभन्दा भयानक क्राइम सीन हो । डसना र सिरकमा रगतका टाटा छन् । यो कोठाको कुनामा एउटा सिसा छ जसमा लिपस्टिकले एउटा नोट लेखिएको छ । यस्तो लाग्छ कि यो नोटमार्फत् पीडितलाई गाडिएको स्थानबारे बताइएको छ ।

    छिमेकमा बस्ने ओक्सानाका अनुसार यो नोट रुसी सैनिकले लेखेका थिए जसले  यी महिलाको शव भेटेका थिए । त्यसपछि रुसी सैनिकले नै यी महिलालाई गाडेका थिए ।

    उनी भन्छिन्, ‘उनीहरुले (रुसी सैनिक) ले मलाई यी महिलामाथि बलात्कार भएको र उनको घाँटी काटिएको थियो र उनलाई चक्कूले प्रहार गरिएको थियो । रगत अत्यधिक बगेका कारण उनको मृत्यु भयो । उनले त्यहाँ असाध्यै धेरै रगत लत्पत्तिएको बताए ।’

    यो महिलालाई त्यसै घरको बगैँचामा गाडिएको छ ।

    हामी पुगेको एक दिनपछि प्रहरीले उनको शवलाई बाहिर निकाल्यो, अनुसन्धानका लागि । यी महिलाको शरीरमा कुनै पनि कपडा थिएन र उनको घाँटीमा एउटा गहिरो र लामो काटिएको निशान थियो ।

    एक होइन थुप्रै घटनाः

    किभ क्षेत्रको प्रहरी प्रमुख एन्द्री नेबयतोफले उनको विभाग किभबाट पश्चिममा ५० किलोमिटर टाढा स्थित इलाकामा एउटा यस्तै घटनाको अनुसन्धान भइरहेको छ ।

    यो मामिलामा एक परिवार आफ्नो सानो बच्चासँग गाउँको किनारामा बस्थ्यो ।

    नेबयतोफ भन्छन्, ‘९ मार्चमा रुसी सेनाका थुप्रै सैनिक उनको घरमा छिरे । श्रीमानले आफ्नी श्रीमती र बच्चालाई जोगाउने कोसिस गरे । त्यसैले उनीहरुले श्रीमानलाई घर बाहिर निकालेर गोली हाने ।’

    त्यसपछि दुई सैनिकले बारम्बार श्रीमतीको बलात्कार गरे । उनीहरु फिर्ता हुन्थे, त्यसपछि पुनः आउँथे । उनीहरु तीन पटक उनको बलात्कार गर्न फर्किए । प्रतिरोध गरे उनको बच्चालाई हानी हुने काम गर्ने धम्की दिएका थिए । आफ्नो बच्चाका लागि उनले कुनै प्रतिरोध नगरी चुपचाप सहिन् ।’

    जब सैनिक त्यहाँबाट गए तब उनीहरुले महिलाको घर जलाएर उनको कुकुरलाई गोली हाने ।

    तर यी महिला आफ्नो बच्चासँग भाग्न सफल भइन् । नेबयतोफका अनुसार उनको समूहले यी महिलालाई भेटेर उनको बयान लिएका छन् ।

    प्रहरीले पछिल्लो केही समयदेखि यी पीडितको घरमा प्रमाणको खोजी गरिरहेका छन् । तर यो स्थान मात्र एउटा ढाँचा हो । र नराम्रोसँग जलिसकेको यो घरमा शान्तिले भरिएका पुराना दिनका हल्का झलक मात्रै भेटिन्छन् । खसानीको थुप्रोमा हामीले बच्चाको एउटा साइकल, एउटा खेलौना, कुकुरको पेटी र पुरुषले चिसो महिलामा लगाउने जुत्ता पायौँ ।

    यी पीडितका छिमेकीले उनका श्रीमानलाई बगैँचामा गाडे । अब प्रहरीले उनको पार्थिव शरीर बाहिर निकालेर अनुसन्धान थालेको छ ।

    प्रहरीका अनुसार उनीहरु यो मामिलालाई अन्तरराष्ट्रिय अदालतमा लिएर जान चाहन्छन् ।

    बीबीसी


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend