logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • नेपाली काँग्रेसका हामी सिपाहीले यो वर्षलाई ‘चुनावी वर्ष’ का रूपमा लिनु पर्छ: नेता कोइराला

    नेपाली काँग्रेसका हामी सिपाहीले यो वर्षलाई ‘चुनावी वर्ष’ का रूपमा लिनु पर्छ: नेता कोइराला

    4.1K
    Shares

    काठमाडौं । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले स्थानिय तहको निर्वाचनमा विभाजित भएर चुनावमा जाने छुट कसैलाई पनि नभएको बताएका छन् । आज (बिहीबार) बिहान नयाँ वर्षको शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् ।

    नेता कोइरालाले स्थानीय तहको निर्वाचनमा विजय हासिल गर्न एकजुट भएर लाग्न आह्वान गरेका छन् । उनले चुनावका बेला विभाजित नहुन काँग्रेस नेता–कार्यकर्तालाई अपिल गरे ।

    उनले भनेका छन्, ‘नयाँ वर्षलाई स्वागत गर्दा हाम्रो सङ्कल्प र अर्जुनदृष्टि काँग्रेसलाई तिनै तहको निर्वाचनमा विजयी बनाउने र नेपाली जनताको मुहारमा खुशी ल्याउने तर्फ केन्द्रित हुनुपर्नेछ । केन्द्रदेखि गाउँसम्म अब विभाजित भएर चुनावमा जाने छुट हामी कसैलाई छैन ।’

    नयाँ वर्षसँगै देशमा चुनावी माहौल तात्ने भन्दै वर्षभरि नै विश्राम गर्ने समय नभएको कोइरालाले बताए । उनले भने, ‘हाम्रो क्रियाशीलतामा मात्र काँग्रेस र लोकतन्त्रको भविष्य सुनिश्चित हुनेछ । नेपाली काँग्रेसका हामी सिपाहीले यो वर्षलाई ‘चुनावी वर्ष’ का रूपमा लिनु पर्नेछ ।’

    विरोधीहरु बलिया र संगठित रहेको भन्दै काँग्रेस एक हौँ भन्ने सन्देश निर्वाचन वर्षको पहिलो नारा हुनुपर्ने बताए । ‘म तपाईँहरूबाट यही अपेक्षा गर्दछु । हामी बीचका मतभेद र मतभेदहरू पार्टीको आन्तरिक जीवनको विषय हो र त्यस विरुद्ध हामी पार्टी भित्रै छलफल, बहस र छिनोफानो गर्दै गरौँला’ उनले लेखेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend