logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • सल्यानमा सत्तारुढ दलले आ–आफ्नो अडान नछोडेपछि एक्लाएक्लै लड्ने सहमति

    सल्यानमा सत्तारुढ दलले आ–आफ्नो अडान नछोडेपछि एक्लाएक्लै लड्ने सहमति

    6.1K
    Shares

    काठमाडौं । सल्यानमा सत्तारुढ दलहरुबीच हुने भनिएको गठबन्धन भाँडिएको छ । दलहरूका आ–आफ्नै दाबी र अडानका कारण सहमति नजुटेपछि एक्लाएक्लै चुनावमा जाने निर्णय नै भएको छ । नेपाली काँग्रेस सल्यानका पार्टी सभापति केशबहादुर विष्टको अध्यक्षतामा आइतबार बसेको बैठकले एक्लाएक्लै चुनावमा जाने निर्णय गरेको हो । विष्टले भने, ‘गठबन्धन दलका तर्फबाट पालिकास्तरको बाँडफाँडका विषयमा सहमति गर्न कठिनाई भएकाले निर्वाचनमा मैत्रिपूर्ण र स्वछ प्रतिस्पर्धासहित चुनावमा जाने निर्णय गरियो ।’

    बैठकमा तीनवटै दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सल्यानमा काँग्रेसभित्रै पनि आन्तरिक द्वन्द्व भएका कारण गठबन्धन बन्ने कुरामा माओवादी र एकीकृत समाजवादीले आशंका गरेका थिए ।

    यस्तो छ सल्यानको अंकगणित
    २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमाले, माओवादी केन्द्र र नेपाली काँग्रेसबीच सल्यानमा कडा प्रतिस्पर्धा भएको थियो । १० वटा स्थानीय तह रहेको सल्यानमा ०७४ को निर्वाचनमा एमालेले चार पालिका प्रमुख, तीन उपप्रमुख र २७ वडामा आफ्नो वर्चश्व जमाएको थियो ।

    यस्तै, काँग्रेसले तीन प्रमुख, तीन उपप्रमुख र २३ वडामा जित हासिल गर्दा माओवादी केन्द्रले प्रमुख र उपप्रमुखमा ३–३ र वडामा काँग्रेसभन्दा केही धेरै स्थानमा जितेको छ । सो जिल्लामा काँग्रेसका दुई समूहबीच लडाइँ छ । गठबन्धनभित्र तालमेल नहुने भएपछि अब एमालेलाई फाइदा पुग्ने देखिन्छ ।

    शारदा नगरपालिका
    यो नगरपालिकामा ०७४ को स्थानीय तहको निर्वाचनमा मेयर र उपमेयरमा नेपाली काँग्रेसले जितेको थियो । काँग्रेसका सुरेश अधिकारीले ४ हजार २१८ मत ल्याएर मेयरमा जित हासिल गर्दा एमालेका रामकुमार खड्गीले ३ हजार ३४४ र माओवादी केन्द्रका प्रमोदकुमार श्रेष्ठले २ हजार ५७९ मत प्राप्त गरेका थिए ।

    यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि राम्रै मत पाएको छ । राप्रपाका मनोजकुमार प्रधानले २ हजार ४०० मत ल्याएका थिए ।
    उपप्रमुखमा काँग्रेसकै सावित्रा बस्नेतले ४ हजार १८० मत ल्याउँदा एमालेकी सरिता हमाल मल्लले ४ हजार ३७, माओवादीकी झरना बुढाथोकीले २ हजार ५०५ मत ल्याएकी थिइन् ।
    १५ वटा वडा रहेको यो पालिकामा काँग्रेसले ९, एमालेले ४, माओवादी र राप्रपाले १÷१ वडा जितेका छन् ।

    बागचौर नगरपालिका
    यो नगरपालिकामा माओवादीको वर्चश्व छ । मेयरमा माओवादीका लोकमान बुढा ५ हजार १२१ मत पाएर निर्वाचित हुँदा एमालेका लोकप्रसाद डाँगीले ३ हजार ६८० र काँग्रेसका गोरखबहादुर खत्रीले ३ हजार ५६५ मत पाएका थिए ।

    उपप्रमुखमा माओवादीकै कल्पना पुन ५ हजार २१५ मत ल्याएर निर्वाचित हुँदा एमालेकी ओकादेवी खत्रीले ३ हजार ५९० र काँग्रेसकी मेनका चन्दले ३ हजार ४९६ मत ल्याएकी थिइन् । १२ वडा वडा रहेको यस नगरपालिकामा ८ वटा माओवादीले जितेको छ भने काँग्रेस र एमालेले २–२ वटामा जितेका छन् ।

    बनगाड कुपिन्डे नगरपालिका
    यो नगरपालिकामा एमालेका गोविन्दबहादुर पुन ५ हजार ७७ मत पाएर मेयरमा निर्वाचित भएका थिए । यस्तै, माओवादीका कर्णबहादुर बुढाथोकीले ४ हजार ९८४ ल्याएका थिए ।

    उपमेयरमा माओवादीका मञ्जु यरी ४ हजार ८६२ मत ल्याएर निर्वाचित हुँदा काँग्रेसका दीपेन्द्र विष्टले ४ हजार ४५५ मत ल्याएका थिए । यहाँका ७ वडामा माओवादी, ४ वडामा एमाले र एउटामा काँग्रेसले जितेको छ ।

    ढोरचौर गाउँपालिका
    यो पालिकामा एमालेको वर्चश्व देखिन्छ । पालिकाको अध्यक्षमा एमालेका चित्रबहादुर चलाउनेले एक हजार ९२५ मत पाएर निर्वाचित हुँदा माओवादीका नरवीर चलाउनेले एक हजार ५३८ मत र काँग्रेसका नरवीर चलाउनेले एक हजार ३१३ मत पाएका थिए ।

    उपाध्यक्षमा एमालेकै पुष्पाकुमारी बोहोराले एक हजार ९४६ मत ल्याएर निर्वाचित हुँदा माओवादीकी भूमी बुढाथोकीले एक हजार ५९९ र काँग्रेसकी विमला रेउलेले एक हजार २७८ मत ल्याएकी थिइन् । यहाँ एमाले र माओवादीले २–२ र काँग्रेसले एउटा वडामा जितेको छ ।

    त्रिवेणी गाउँपालिका
    अघिल्लो निर्वाचनमा यो गाउँपालिकामा नेपाली काँग्रेसका मानबहादुर डाँगी ३ हजार ७६५ मत ल्याएर निर्वाचित भएका थिए । यो पालिकामा अध्यक्ष पदमा एमालेका लोकेन्द्र सिंहले २ हजार ३१७, र नेकपा मालेका उषा वलीले ६७८ मत ल्याएका थिए ।

    उपाध्यक्षमा काँग्रेसका करुणा खड्काले २ हजार ६४५ मत ल्याएर निर्वाचित हुँदा एमालेकी पवित्रा केसीले २ हजार ३७७ र माओवादी केन्द्रकी लिलावती बुढाले ७६० मत पाइन् । यहाँ ४ वटा वडामा काँग्रेस र २ वटामा एमालेले जितेको थियो ।

    कुमाख गाउँपालिका
    यो पालिकाको अध्यक्षमा माओवादी केन्द्रकी दिलमाया बुढामगरले ३ हजार ६७३ मत पाएर निर्वाचित हुँदा एमालेका भैरव शाहले दुई हजार १२८ र काँग्रेसका विवेकसिंह राठौरले एक हजार ९३९ मत पाए ।

    उपाध्यक्षमा माओवादीकै डिल्लीराज जैसी ३ हजार ८१८ मतसहित विजयी भए । उपाध्यक्षमा एमालेका शान्ति चन्दले २ हजार ७५ र काँग्रेसकी उर्मिला रानाले १८३ मत ल्याएकी थिइन् । पाँच वडाध्यक्ष माओवादीले जित्दा एमाले र काँग्रेसले १÷१ वडामा जित हासिल गरेका थिए ।

    कपुरकोट गाउँपालिका
    यो पालिकामा एमालेका भीमबहादुर सेन तीन हजार १५२ मत पाएर अध्यक्षमा निर्वाचित हुँदा काँग्रेसका दुर्गाबहादुर गिरीले एक हजार ४६७ र माओवादीका प्रकाश भरारीले दुई हजार १३५ मत पाएका थिए ।

    उपाध्यक्षमा पनि एमालेका तिला बुढा ३ हजार १७९ मतका साथ निर्वाचित हुँदा माओवादीकी एलिना रानाले एक हजार ८६८ र काँग्रेसकी ओकी महताराले एक हजार ६७४ मत ल्याइन् । यहाँ ३ वडाध्यक्ष एमाले, दुई माओवादी र एउटा काँग्रेसले जितेका छन् ।

    छत्रेश्वरी गाउँपालिका
    यो पालिकाको अध्यक्षमा काँग्रेसका सन्तोष केसी दुई हजार ९२२ मत पाएर निर्वाचित हुँदा एमालेका ओजबहादुर बुढाथोकीले दुई हजार ७०२ र माओवादीका चित्रबहादुर केसीले दुई हजार १७२ मत पाएका थिए ।

    उपाध्यक्षमा काँग्रेसकी सीता केसीले २ हजार ८१४ मत ल्याएर निर्वाचित हुँदा एमालेकी बुद्ध कुमारी खत्रीले २ हजार ६६९, राप्रपाकी शिला बुढाथोकीले २ हजार १०७, माओवादीकी राधा कुमारी घर्तीले २ हजार १०७ मत पाएकी थिइन् ।

    कालिमाटी गाउँपालिका
    यो पालिकामा एमालेका दानबहादुर खत्रीले दुई हजार ९१२ मत पाउँदा माओवादीका पुरुषोत्तम भट्टराईले दुई हजार ३६३ र काँग्रेसका भरत पुनले एक हजार ९२९ मत पाएका थिए ।

    उपाध्यक्षमा एमालेका सनसिल्ता वली (डिसी) ले २ हजार ८४४ मत ल्याएर निर्वाचित हुँदा माओवादीकी प्रीति जिसी (डिसी)ले २ हजार ३६६ र काँग्रेसकी कमला अधिकारीले १९१७ मत ल्याएकी थिइन् । यहाँ ५ वडामा एमालेले जित्दा माओवादी र काँग्रेसले १÷१ मा जितेका छन् ।

    दार्मा गाउँपालिका
    यस गाउँपालिकाको अध्यक्षमा माओवादीका निमबहादुर केसीले ३ हजार ६९४ मत ल्याएर निर्वाचित हुँदा काँग्रेसका रामचन्द्र केसीले दुई हजार ७७१ मत पाए । उपाध्यक्षमा माओवादीकै टीका शर्मा ओलीले ३ हजार ६९५ मत ल्याएर निर्वाचित हुँदा एमालेका दलबहादुर केसीले २ हजार ६१९ मत ल्याएका थिए । यहाँ ५ वडामा माओवादी र एउटामा एमालेले जितेको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend