logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • जनप्रतिनिधिद्वारा सवारी साधन फिर्ता सुरु, पाँच वर्षमा भएका कार्यको प्रगति विवरण सार्वजनिक

    जनप्रतिनिधिद्वारा सवारी साधन फिर्ता सुरु, पाँच वर्षमा भएका कार्यको प्रगति विवरण सार्वजनिक

    8K
    Shares

    तनहुँ । तनहुँका जनप्रतिनिधिले सवारी साधनको सुविधा फिर्ता गर्न सुरुआत गरेका छन् । आसन्न स्थानीय तह निर्वाचनलाई मध्यनजर गरी उनिहरुले आफूले प्रयोग गर्दै आएको सवारी साधन फिर्ता गर्न सुरु गरेका हुन् ।

    शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङ, प्रवक्ता खिमबहादुर कुमाल र भीमाद नगरपालिका–९ का वडाध्यक्ष इमानबहादुर थापाले आइतबार सवारी साधन फिर्ता गरेका हुन् । उनिहरु दुवै ती पालिकाको नगरप्रमुखको आकाङ्क्षी छन् ।

    शुक्लागण्डकीका प्रमुख गुरुङले आफूले प्रयोग आएको ग१झ ३२१ नम्बरको स्कोरपियो फिर्ता गरेका छन् । उनले प्रमुख प्रशासकीय अधिकृत लिलाबल्लभ न्यौपानेलाई चाबी हस्तान्तरण गरे ।

    उनले पुनः नगरप्रमुखमा दोहोरिनलाई आकाङ्क्षा व्यक्त गरेका छन् । नेपाली कांग्रेस शुक्लागण्डकीले उहाँसहित दश जनाको नाम जिल्ला कार्यसमितिलाई सिफारिस गरेको छ ।

    उनले अब नगरप्रमुखको उम्मेदवार नभए पनि सरकारी सवारी प्रयोग नगर्ने बताए । निर्वाचन आचारसंहिता सुरु भएलगत्तै सवारी फिर्ता गर्न चाहे पनि कार्यालयको कामको कारण ढिलाइ भएको उनले बताए । निर्वाचन नजिकिएकाले नगरपालिकाको सवारी प्रयोग नगर्ने गरी फिर्ता गरेको भन्दै उनले अब मेयरको उम्मेदवार भए पनि नभए पनि सवारीको सुविधा नलिने प्रष्ट पारे ।

    यसैगरी भीमाद–९ का वडाध्यक्ष इमानबहादुर थापाले आफूले प्रयोग गर्दै आएको सरकारी मोटरसाइकल फिर्ता गरेका छन् । उनले आफूले प्रयोग आएको ग१ब १०६९ नम्बरको मोटरसाइकल प्रमुख प्रशासकीय अधिकृत टेकनाथ दाहाललाई फिर्ता गरेका हुन् ।

    निर्वाचनका बेला सरकारी सवारी चढ्न उपयुक्त नहुने भएकाले फिर्ता गरेको उनले बताए । वडाको कामकाजका लागि पनि अब सरकारी मोटरसाइकल प्रयोग नगर्ने निर्णय गरेर फिर्ता गरेको उनले बताए ।

    यसैगरी शुक्लागण्डकीका प्रवक्ता खिमबहादुर कुमालले आफूले चढ्दै आएको ग१ब ७४६ नम्बरको मोटरसाइकल नगरपालिकालाई फिर्ता गरेका छन् । अब चुनाव केन्द्रित गतिविधिमा लाग्नुपर्ने भएकाले सरकारी सेवा सुविधाको दुरुपयोग गर्न नहुने बताए ।

    कार्य प्रगति सार्वजनिक

    व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेले पाँच वर्षमा भएका कार्यको प्रगति विवरण सार्वजनिक गरेका छन् । उनले आइतबार दमौलीमा पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो कार्यकालमा भएका कामको विवरण सार्वजनिक गरेका हुन् ।

    संविधानको निर्माणपछि राज्य पुनःसंरचना भई नगरपालिकाको भूगोल बढ्न गई गाउँ र सहरको विविधताबीच नगरपालिकाको विकास प्रक्रिया अगाडि बढाउन चुनौतीपूर्ण रहे पनि सबैको सहयोगमा विभिन्न महत्वपूर्ण कार्य भएको उनले दाबी गरे । नगरप्रमुख न्यौपानेले विगत निर्वाचनमा गरिएका अधिकांश प्रतिबद्धता पूरा भएको दाबी गरे ।

    एकीकृत सहरी विकास योजना निर्माण गरी विविधतायुक्त गाउँ सहर, समृद्ध मेरो व्यास नगर मूल नारा तय भएको, कृषि, पर्यटन र शिक्षालाई अग्रणी क्षेत्रमा राखी कार्य गरिएको नगरप्रमुख न्यौपानेले जानकारी दिए ।

    खानेपानीलाई प्राथमिकतामा राखी देवीडाँडा खानेपानी, कमरेसाँध खानेपानी, क्यामिन छापथोक खानेपानी, केशवटार रुम्सी ठिन नयाँगाउँ खानेपानीलगायतका योजनामार्फत एक घर एक धाराका योजना सञ्चालन, खड्गकाली मार्ग, छाब्दीमार्ग, कालिका मार्ग, केशवटार मार्ग, पराशर मार्ग, माहेन्द्री मार्ग, क्यामिन छापथोक मार्ग, मानुङकोट मार्ग, सिन्धु मार्ग, वडा पहुँच मार्गलगायत विभिन्न वडामा कालोपत्र योजना सम्पन्न भएको विवरणमा उल्लेख गरिएको छ ।

    दमौली विपी वनबाटिकालगायत विभिन्न वडामा खेलमैदान निर्माण, दमौली पार्क, बजारभित्रका अनशन चौतारीलगायतका चोक सुधार, सडक बत्ती व्यवस्थापन, घाट निर्माण गरिएको नगरप्रमुख न्यौपानेले उल्लेख गरे ।

    स्वास्थ्य क्षेत्रमा वडा नम्बर १, २, ४, ५, ७, १० मा आधारभूत स्वास्थ्य भवन र वडा नम्बर १३ मा सहरी स्वास्थ्य भवन निर्माण, वडा नम्बर ६ र १२ मा नयाँ भवन निर्माणाधीन, पीसीआर परीक्षण प्रयोगशाला सञ्चालन, २५ शय्याको अस्पताल भवन निर्माणाधीन, शिशाघाट बर्लाचीमा नयाँ स्वास्थ्य केन्द्र विस्तारलगायतलाई नगरप्रमुख न्यौपानेले महत्वपूर्ण कामको सूचीमा उल्लेख गरेका छन् ।

    नगरप्रमुख न्यौपानेले केही अधुरा काम गर्न बाँकी रहेको पत्रकार सम्मेलनमा बताए नारेश्वरताल, १०८ फिट व्यासमूर्ति निर्माण, व्यास झुला निर्माण, बहुउद्देश्यीय भवन, भादगाउँ खानेपानी, कमेरेसाँध खानेपानी, देवीडाँडा खानेपानी, शीतभण्डार, विपी वनबाटिका खेलमैदान, मानुङकोट, गलेखामकोट, तनहुँसुर, पुलिमराङलगायतका पर्यटकीय क्षेत्रको विकास योजना लागत साझेदारीमा अगाडि बढाउने काम बाँकी रहेको उनले उल्लेख गरे ।

    नगरप्रमुख न्यौपानेले अधुरा रहेका योजना पूरा गर्न पुनः नगरप्रमुख बन्ने इच्छा व्यक्त गरेका छन् । अधुरा रहेका योजना पूरा गर्न, आफ्नो अनुभव र क्षमताको प्रयोग गर्न पुनः नगरप्रमुखको इच्छा व्यक्त गरेका हुन् ।

    पाँच वर्षको अवधिमा नगरवासीको शिर निहु¥याउने कुनै काम नगरेको भन्दै उनले भने, “हाम्रो कामको मूल्याङ्कन र समीक्षा गर्ने दायित्व नगरवासी, राजनीतिक दल, नेपाली कांग्रेसका नेतृत्व गणमा छ ।”

    “नयाँ आउने मान्छेलाई बुझ्नै समय लाग्छ, हामीले धेरै अनुभव प्राप्त गरिसकेका छौँ, त्यही अनुभवलाई फेरि प्रयोग गर्ने चाहना हो,” उनले भने । उनले पार्टीले टिकट नदिएको खण्डमा पनि पार्टीलाई विजयी गराउन भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे । उनले निष्ठापूर्वक १८ घण्टा काम गरेकाले जनताले मूल्याङ्कन गर्नेमा विश्वस्त रहेको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend