logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • स्थानीय तह निर्वाचनमा दुई गठबन्धनबिच प्रतिस्पर्धा हुन्छ: अध्यक्ष प्रचण्ड

    स्थानीय तह निर्वाचनमा दुई गठबन्धनबिच प्रतिस्पर्धा हुन्छ: अध्यक्ष प्रचण्ड

    2.9K
    Shares

    काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आसन्न स्थानीय तह निर्वाचनमा दुई गठबन्धनबिच प्रतिस्पर्धा हुने बताएका छन् । सोमबार नेकपा(माओवादी केन्द्र)को केन्द्रीय प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले आसन्न स्थानीय तह निर्वाचनमा दुई गठबन्धनका बिचमा प्रतिस्पर्धा हुने बताएका हुन् ।

    उनले एउटा गठबन्धन राजावादीहरुसँग सम्बन्धित गठबन्धन र अर्को गणतन्त्र, संविधान र राष्ट्रियताको रक्षा गर्न खोज्नेहरुका बिचमा गठबन्धन हुने बताएका हुन् । उनले भने – ‘अझैपनि संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी, समानुपातिक प्रणाली र धर्म निरपेक्षतालाई कुनै न कुनै रुपले उल्ट्याउन चाहाने प्रवृत्ति अहिले पनि देखा परेको छ । एउटा प्रवृत्ति जो हिजोका सामन्त राजा, महाराजा र ऊ सँग सम्बन्धित पार्टीहरुसँग गठबन्धन गर्न खोज्ने । लोकतन्त्रवादी र वामपन्थीहरुसँग भन्दा प्रतिगामी शक्तिहरुसँग गठबन्धन गर्न खोज्ने प्रवृत्ति र अर्को संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र राष्ट्रियताको रक्षा गर्न खोज्नेहरुको बिचमा गठबन्धन । तपाई, हामीले देखेका छौँ दुईवटा गठबन्धनका, तपाई गठबन्धनका पार्टीहरुका अनुहार राम्रोसँग हेर्नुभयो भने कुन गठबन्धन लोकतन्त्रवादी, परिवर्तनकारी, संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षधरको गठबन्धन हो र कुन त्यसलाई उल्ट्याउन खोज्ने हो भन्नेकुरा प्रष्टै देखिन्छ ।’

    अध्यक्ष दाहालले सोमबार बेलुकीसम्म गठबन्धनका दलहरुका बिचमा महानगरपालिका र उपमहानगरपालिकाको भागबन्डा भइसक्ने बताए । नगरपालिका र गाउँपालिकाको सन्दर्भमा भने तल्ला कमिटीहरुलाई नै अधिकार दिइएको उनले उल्लेख गरे । गठबन्धनका साझा उम्मेदवार तय गर्दा कतिपय असन्तुष्टिहरु आउनु सामान्य रहेको भन्दै उनले पार्टी र गठबन्धनले संस्थागत निर्णय गरेपछि सबै पार्टी पंक्ति संस्थागत निर्णयको पक्षमा उभिने उनले बताए ।

    उनले ६ वटा महानगरपालिका मध्ये ३ वटा नेपाली कांग्रेसलाई र बाँकी ३ वटामा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा(एकीकृत समाजवादी) पार्टीलाई एक-एक वटा बाड्नेगरी छलफल भइरहेको बताए । उनले निर्धारित समयमै निर्वाचन हुने उल्लेख गर्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई देखाएर निर्वाचन नरोकिने स्पष्ट पारे ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend