logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • सुदूरपश्चिममा सबैभन्दा ठुलो दल एकीकृत समाजवादीलाई गठबन्धन गर्नै समस्या

    सुदूरपश्चिममा सबैभन्दा ठुलो दल एकीकृत समाजवादीलाई गठबन्धन गर्नै समस्या

    6.5K
    Shares

    कैलाली । सुदूरपश्चिम प्रदेशमा सबै भन्दा ठुलो दल रहेको एकीकृत समाजवादीलाई सुदूरपश्चिम प्रदेशमा गठबन्धन गर्न समस्या भइरहेको छ । माओवादी केन्द्र र नेपाली कांग्रेसले दाबी धेरै गरेपछि एकीकृत साजवादीलाई समस्या भएको हो ।
    दार्चुलामा एकीकृत समाजवादीलाई बाहिर राखेर सहमति गरेपछि एकीकृत समाजवादी रुष्ट भएको थियो ।

    बझाङमा भने माओवादीले भन्दा धेरै स्थानीय तहमा एकीकृत समाजवादीले पाएको छ । त्यस बाहेक कुनै पनि स्थानीय तहमा अहिले सम्म गठबन्धन हुन सकेको छैन । अहिले अन्य दुई दलले एकीकृत समाजवादीलाई आवश्यकता अनुसारको स्थान दिन नचाहेपछि समस्या भएको बताइएको छ ।

    सुदूरपश्चिम प्रदेश गठबन्धनमा सहमति हुन नसके मित्रवत् प्रतिस्पर्धा तर्फ जाने विषयमा पनि छलफल भइरहेको एकीकृत समाजवादीका सुदूरपश्चिम इन्चार्ज मदन कुमारी शाह गरिमाले जानकारी दिइन् । ‘सधैँ जित्नकै लागि मात्रै चुनाव लडिने कुरा भएन । हार्ने पनि हुन सक्छ’ उनले भनिन् ‘अस्तित्वको लागि एक्लै पनि लड्नु पर्ने हुन सक्छ । ’

    गठबन्धन गरेर जाने र एक्लै निर्वाचनमा होमिने दुवै विकल्पमा तयार रहन निर्देशन जारी गरिएको उनले बताइन् । दार्चुलामा कुनै पनि पालिका नपाएको एकीकृत समाजवादीलाई वडाध्यक्ष पनि दिन तयार नभएपछि समस्या भएको हो ।
    ‘अहिले पनि छलफल भइरहेको छ । तर, ठोस निर्णय भएको छैन’ उनले भनिन्, ‘कतिपय स्थानमा हामीलाई कमजोर भनिएको छ । लुकेको शक्ति कसले देख्छ र ?’

    सुदूरपश्चिमका चार जिल्लामा अहिले सबै भन्दा धेरै समस्या छ । डोटी, अछाम कैलाली र कञ्चनपुरमा सबै भन्दा धेरै समस्या रहेको बताइएको छ । अछाममा एकीकृत समाजवादीले दुई पालिका मागेको छ । तर, उनीहरूको जनमत अनुसार एक पालिका लिने मुडमा कांग्रेस देखिएका छ ।

    कञ्चनपुरमा कांग्रेसले पाँच पालिका पाउने सहमति भए पनि माओवादी र एकीकृत समाजवादीले पाउने पालिकाका विषयमा सहमति जुट्न सकेको छैन । केही समय अघि एमालेबाट एकीकृत समाजवादीमा लागेका अशोक चन्दको स्थानीय तह बेदकोट एकीकृत समाजवादीले पाए पनि थप एक स्थानीय तहको दाबी गरेको छ ।

    कञ्चनपुरमा बेदकोट र पुर्नवास नगरपालिकाका नगर प्रमुख एकीकृत समाजवादीमा छन् । पुर्नवास नगरपालिका भने माओवादीले नछाड्ने बताएको छ । कैलालीमा पनि अहिले सम्म कुरा मिलेको छैन । कैलालीका अहिले एकीकृत समाजवादीमा दुई उपप्रमुख मात्रै छन् ।

    तत्कालिन अवस्थामा सात पालिका एमालेले जितेको थियो । ती मध्ये कुनै पनि पालिकाका प्रमुखले एकीकृत समाजवादीमा सनाखत गरेका छैनन् । तर, समाजवादीले चार पालिका दाबी गरेपछि गठबन्धन गर्न समस्या भइरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend