logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • चितवन राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्षमा ३४ गैँडा मरे

    चितवन राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्षमा ३४ गैँडा मरे

    6.1K
    Shares

    चितवन । चितवन राष्ट्रिय निकुञ्जमा साउनयता ३४ गैँडा मरेका छन् । दुई चोरी शिकारीबाट मारिएको अनुमान छ भने अन्य प्राकृतिक कारणले मरेका हुन् । निकुञ्जमा गत आर्थिक वर्षमा प्राकृतिक कारणबाट ३३ गैँडा मरेका थिए । सबैभन्दा बढी एकै वर्षमा प्राकृतिक कारणबाट ४३ सम्म गैँडा मरेको तथ्याङ्क छ ।

    निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सबैभन्दा बढी जुधेर गैँडा मरेका छन् । बुढो भएर, बाघको आक्रमणबाट, दलदलमा फसेर र खाल्डोमा परेर गैँडा मरेको उनले जानकारी दिए ।

    गैँडाको सङ्ख्या बढेसँगै प्राकृतिक कारणले मर्ने सङ्ख्या पनि बढ्दै गएको उनको भनाइ छ । निकुञ्जले प्राकृतिक कारणबाट गैँडाको मृत्यु घटाउन आवश्यक सावधानी अपनाउने काम भइरहेको तिवारी बताउनुहुन्छ । वर्षाको समयमा प्राकृतिक कारणबाट धेरै गैँडा मर्ने गर्दछन् । निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी हुँदा प्राकृतिक मृत्यु त्यसै क्षेत्रमा बढी हुने गरेको छ ।

    निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले पश्चिमी क्षेत्रका गैँडालाई पूर्वमा स्थानान्तरण गर्ने विषयमा छलफल भइरहेको बताए । पानी र घाँसे मैदान व्यवस्थापन राम्रो गरेर पश्चिमका केही गैँडा पूर्व लैजानसकेमा प्राकृतिक मृत्यु केही घटाउन सकिने निकुञ्ज प्रशासनको अनुमान छ ।

    पछिल्लो गणना अनुसार चितवनमा ६९४, बर्दियामा ३८, शुक्लाफाँटामा १७ र पर्सामा तीन गैँडा रहेका छन् । कूल सङ्ख्या ७५२ रहेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend