काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखमा ५ दलीय गठबन्धनको तर्फबाट सिर्जना सिंहले उम्मेदवारी दिएकी छन् । सोमवार राष्ट्रिय सभागृहमा स्थापना गरिएको काठमाडौं महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगि उनले महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएकी हुन् ।
काँग्रेस नेता प्रकाशमान सिंहकी धर्मपत्नीसमेत रहेकी नेतृ सिंहले सत्तारुढ दल नेपाली काँग्रेसको तर्फबाट मेयरमा मनोनयन दर्ता गराएकी हुन् । उनले आफ्ना सबै योजना काठमाडौंलाई मध्यनजर गरेर काठमाडौंको उत्थानका लागि हुने बताईन् । उम्मेदवार सिंहले काठमाडौंलाई व्यवस्थित, सफा र सुन्दर बनाउने बताइन् । उनले काठमाडौंमा पनि अझै महिलालाई सम्मान व्यवहार नभएको भन्दै महिलाको हकहीतमा काम गर्ने प्रतिवद्धता जनाइन् ।
उनले काठमाडौं महानगरभित्रका विपन्न, गरिव महिलालाई छानेर उनीहरुको आर्थिक सुधारमा जोड दिने पनि बताईन् । उनले काठमाडौं महानगरपालिकामा विभिन्न काम गरेर बस्ने विदुर पुरुषहरुका लागि पनि भत्ता उपलब्ध गराउने बताईन् । उनले काठमाडौं महानगरपालिकाका हरेक वडामा वृद्धवृद्धाका लागि जेष्ठ नागरिक केन्द्र र स्वास्थ्य संस्था स्थापना गर्ने, सुविधा सम्पन्न महानगरीय अस्पताल खोल्ने र त्यसमा काठमाडौंवासीलाई विशेष छुट दिनुका साथै विपन्नहरुलाई निःशुल्क उपचार गर्ने वातावरण मिलाउने बताइन् । त्यस्तै उनले मेयरमा जित निकालेको खण्डमा बालकालिकाका लागि विभिन्न कार्यक्रम ल्याउने, युवाहरुलाई रोजगार दिने र योग्यताअनुसार उन्नतीको कदम चाल्ने बताइन् ।
उम्मेदवार सिंहले काठमाडौं ऐतिहासिक शहर भएकोलले आफूले जितेपछि विश्वमै उदाहरणीय महानगर बनाउने दाबी गरिन् । गठबन्धनबाट महानगरको उपमेयरमा भने नेकपा (एकीकृत समाजवादी) ले उम्मेदवार दर्ता गराउने भएको छ ।