logo

२०८१ जेष्ठ २० आइतबार

logo
  • आइतबार, २० जेष्ठ २०८१
  • लुम्बिनी प्रदेशमा पनि टिकेन गठबन्धन

    लुम्बिनी प्रदेशमा पनि टिकेन गठबन्धन

    3.9K
    Shares

    बुटवल । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको ५ दलीय गठबन्धन अधिकांश जिल्लामा कार्यान्वयन हुन सकेन ।
    गठबन्धनमा आवद्ध पाँचवटै दलको सहअस्तित्व स्वीकार गर्दै प्रदेशका १०९ पालिकामै सम्मानजनक सिट बाँडफाँट गर्ने प्रतिवद्धता सहित पाँच दलले संयन्त्र र कार्यदल गठन गरेका थिए । तर पाँचै दलबीच गठबन्धन गर्दा भागबण्डामा थोरै हिस्सा पाइने भएपछि कांग्रेस र माओवादी केन्द्रले दुई दल मात्रै मिल्दा पनि एमालेलाई हराउन सकिने पालिकाहरुमा अरु दललाई गठबन्धनमा सामेल नगराउने रणनीति अपनाएका छन् ।

    जसले गर्दा मनोनयनको अन्तिम दिनसम्म सहमतिका नाममा साना दललाई अल्झाएर धोका दिएको एकीकृत समाजवादी र जसपाको ठम्याइ छ । कांग्रेस नेताहरु भने गठबन्धनभित्रको नेकपा एकीकृत समाजवादी भर्खरै स्थापित नयाँ दल, जनता समाजवादी पार्टीको पहाडी जिल्लाहरुमा जनाधार नभएको र राष्ट्रिय जनमोर्चाको पनि प्युठान र अर्घाखाँची बाहेकका जिल्लामा खासै संगठन नभएकाले पाँचै दलबीच सबै पालिकामा गठबन्धन हुन नसकेको बताउँछन् ।
    यही कारण प्रदेशका ४ उपमहानगरमा केन्द्रबाट भागबण्डामा सहमति भएपनि बुटवल र तुल्सीपुरमा मात्रै गठबन्धन अनुसार उम्मेदवारी दर्ता भयो । दाङको घोराही र बाँकेको नेपालगन्ज उपमहानगरमा पाँच दलको गठबन्धन कायम हुन सकेन ।

    बर्दिया
    बर्दियाका आठवटा पालिका मध्ये दुईवटा पालिकामा मात्रै दुई दलबीच गठबन्धन भएको छ । अन्य सबै पालिकाहरुमा गठबन्धनका दलहरुबीच अलग–अलग उम्मेदवारी दर्ता भएको छ । बाँसगढी नगरपालिका र गेरुवा गाउँपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेल गरिएको छ । तर यी दुबै पालिकामा प्रमुख÷अध्यक्ष र उपप्रमुख÷उपाध्यक्ष पद माओवादी केन्द्रले लिएको छ । एकीकृत समाजवादीले बाँसगढीका २ वटा वडा र गेरुवाका ३ वटा वडा लिएको छ ।

    बढैयाताल गाउँपालिकामा सुरुमा कांग्रेस र माओवादी केन्द्रबीच तालमेल गर्ने निर्णय भए पनि उम्मेदवारी दर्ता गर्ने अन्तिम समयमा दुवै दलले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन् । गुलरिया नगरपालिकामा माओवादी केन्द्रका गेहेन्द्र ढकालले मेयरमा र इन्दिरा सुवेदीले उपमेयरमा उम्मेदवारी दिएका छन् ।

    वडा तहमा भने जसपासँग मात्रै तालमेल गरिएको छ । मेयर उम्मेदवार ढकालले उम्मेदवारी फिर्ता लिने मितिसम्म सहमतिमा पुग्ने प्रयासस्वरुप गठबन्धनका अन्य दलहरुसँग छलफल भइरहेको बताए । बारबर्दिया, मधुवन, राजापुर र ठाकुरबाबा नगरपालिकामा पनि गठबन्धनका दलहरुले छुट्टाछुट्टै उम्मेदवारी दिएका छन् ।

    बाँके
    एक उपमहानगरसहित आठ वटा पालिका रहेको बाँकेमा ६ वटा पालिकामा गठबन्धन भएको छ । तर नेपालगञ्ज उपमहानगरमा सत्ता गठबन्धनभित्र माओवादी बाहेक कांग्रेस, जसपा र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन भएको छ । नेकपा माओवादी केन्द्रले आफूले मेयर र उपमेयर केही नपाएको जनाउँदै गठबन्धनबाट बाहिरिएर स्वतन्त्र उम्मेदवारी दर्ता गराएको छ ।

    सत्ता गठबन्धनबाट नेपालगञ्जको मेयरमा नेपाली कांग्रेसका प्रशान्त विष्ट र उपमेयरमा जनता समाजवादी पार्टीका कमरुद्दीन राईले उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धनबाट बाहिरिएको माओवादी केन्द्रबाट टंक धामीले मेयरमा र तारा रोकायाले उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन् ।

    कोहलपुर नगरपालिकामा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन भएको छ । यहाँ मेयरमा माओवादी केन्द्रका नरेन्द्र न्यौपाने र उपमेयरमा एकीकृत समाजवादीका नारायणी वलीले उम्मेदवारी दिएका छन् ।
    कोहलपुरमा कांग्रेसमा विद्रोह भएको छ । कांग्रेसले पूर्ण आचार्यलाई मेयरको उम्मेदवार बनाएपछि बलराम शर्मा बागी उम्मेदवार छन् ।

    खजुरा गाउँपालिकामा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच गठबन्धन बनेको छ । अध्यक्षमा माओवादीका डम्बर विक तुफान र उपाध्यक्षमा नेपाली कांग्रेसका मन्जु मल्लले उम्मेदवारी दिएका छन् । जानकी गाउँपालिकामा माओवादी केन्द्र र जसपाबीच गठबन्धन भएको छ ।

    नरैनापुर, राप्तीसोनारी र डुुडुवा गाउँपालिकामा गठबन्धन भएको छैन । सबै दलले उम्मेदवारी दिएका छन् भने वडाहरुमा भने नेपालगञ्जमा सबै दलले उम्मेदवारी दिएका छन् । कोहलपुर लगायत खजुरामा वडामा समेत गठबन्धन गरेर उम्मेदवारी दिइएको छ ।

    दाङ
    दाङमा सत्ता गठबन्धन दलहरुबीच भागवण्डाको सहमति नजुटेपछि जिल्लाका १० पालिकामध्ये तुलसीपुर उपमहानगर बाहेकका पालिकामा गठबन्धन भत्किएको छ । दलहहरुले आ–आफ्नै अडान नछाडेपछि सहमति जुट्न सकेन । मनोनयनको अन्तिम दिन घोराही र बंगलाचुली गाउँपालिकाको गठबन्धनबाट नेकपा एकीकृत समाजवादी बाहिरिएको छ । यसअघि सत्तारुढ गठबन्धनका शीर्ष नेताले केन्द्रबाट घोराही र तुलसीपुर उपमहानगरको भागबण्डा गरिसकेका थिए । जस अनुसार घोराहीको मेयरमा माओवादी केन्द्र र उपमेयरमा कांग्रेस तथा तुलसीपुरको मेयरमा कांग्रेसका गेहेन्द्र गिरी र उपमेयरमा नेकपा एकीकृत समाजवादीको भागमा परेको थियो ।

    घोराहीमा नेकपा माओवादी केन्द्रका हेमराज शर्मा (प्रमुख) र नेपाली कांग्रेसका भुपबहादुर डाँगी (उपप्रमुख) उम्मेद्वार।
    केन्द्रको गठबन्धनले गरेको भागबण्डा अनुरुप घोराहीको प्रमुख पदमा हेमराज शर्मा, उपप्रमुखमा कांग्रेसबाट भुपबहादुर डाँगीले उम्मेदवारी दिएका छन् । त्यस्तै तुलसीपुरको प्रमुखमा कांग्रेसबाट गेहेन्द्र गिरी र उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका जोगबहादुर रानाले उम्मेदवारी दिएका छन् ।

    कांग्रेसले जिल्लाका सात वटा पालिकामा एक्लै उम्मेदवारी दिएको छ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले अलग्गै तालमेल गरेका छन् । लमहीमा माओवादी केन्द्र, जनमोर्चा र जसपाले चुनावी तालमेल गरेर उम्मेदवार उठाएका छन् । लमहीमा माओवादी केन्द्रका बसन्त शर्मा (विक्रान्त) मेयरको उम्मेदवार बन्दा एकीकृत समाजवादीका गणेश चौधरीले उपमेयरमा उम्मेदवारी दिएका छन् । जसपा र जनमोर्चाले वडाका अध्यक्ष र सदस्य लिने गरी तालमेल गरिएको छ ।

    त्यस्तै गढवा गाउँपालिकामा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमोर्चाले तालमेल गरेका छन् । माओवादी केन्द्रले यमनारायण पोख्रेललाई अध्यक्षको उम्मेदवार बनाउँदा एकीकृत समाजवादीले शान्ति चौधरीलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ । चौधरी २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । गढवा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पद एमालेले जितेको थियो । गढवा गाउँपालिकामा जनमोर्चाले भने केही वडामा भाग पाएको छ ।

    दाङको गढवा गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट अध्यक्ष उम्मेद्वार यमनारायण पोख्रेल र उपाध्यक्ष उम्मेद्वार नेकपा एकीकृत समाजवादीकी शान्ति चौधरी । कांग्रेसले गढवा गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित सात वटा वडामा उम्मेदवार उठाएको छ । अध्यक्षमा सर्वजित डीसी र उपाध्यक्षमा शारदा चौधरी कांग्रेसबाट उम्मेदवार छन् । वडा नम्बर ८ मा भने कांग्रेसले अध्यक्षको उम्मेदवारी दिएको छैन ।

    नेपाली कांग्रेस गढवा गाउँपालिकाका सचिव पोषणराज शर्माले माओवादी र एकीकृत समाजवादी सहमतिका लागि लचक नहुँदा तालमेल हुन नसकेको बताए । दाङकै राप्ती गाउँपालिकामा माओवादी र जनमोर्चाले तथा राजपुरमा माओवादी, जनमोर्चा र एकीकृत समाजवादीले चुनावी तालमेल गरेका छन् । बबई गाउँपालिकामा माओवादी, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले तालमेल गरेका छन् । शान्तिनगर गाउँपालिकामा भने कांग्रेस, माओवादी, एकीकृत समाजवादीले एक्लाएक्लै उम्मेदवारी दिएका छन् ।

    रुकुम पूर्व
    रुकुम पूर्वका तीनवटै गाउँपालिकामा गठबन्धन भत्किएको छ । बरु दुई पालिका एमाले र कांग्रेसबीच गठबन्धन भएको छ । सिस्ने र भूमे गाउँपालिकामा नेकपा एमालेले र नेपाली कांग्रेसले तालमेल गरेका छन् । पुथा उत्तरगंगा गाउँपालिकामा सत्ता गठबन्धनका दलहरुले एक्लाएक्लै उम्मेदवार उठाएका छन् । माओवादी केन्द्रले तीनवटै पालिकामा एक्लै उम्मेदवार उठाएको छ ।

    रोल्पामा माओवादी केन्द्रको एकल उम्मेदवारी
    रोल्पाका १० पालिकामध्ये एउटा पालिकामा मात्रै दुई दलबीच गठबन्धन भएको छ । जस अनुसार गंगादेव गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन भएको छ ।

    पालिका अध्यक्षसहित सवै वडाध्यक्ष र २६ जना वडा सदस्य नेकपा माओवादी केन्द्रको भागमा परेको छ भने नेकपा एकीकृत समाजवादीले उपाध्यक्ष सहित २ जना वडा सदस्य पाएको छ । रोल्पा नगरपालिका, रुन्टीगढी गाउँपालिका र गंगादेव गाउँपालिकामा एक्लाएक्लै भिडेका दलहरुले अन्य ६ स्थानीय तहहरुमा भने फरक गठबन्धन गरेका छन् ।
    रोल्पामा माओवादीले दम्भ देखाएको भन्दै माओवादी केन्द्रविरूद्ध कांग्रेस, एमाले र विप्लव नेतृत्वको नेकपाबीच माडी, परिवर्तन, त्रिवेणी गाउँपालिकामा गठबन्धन भएको छ । परिवर्तन गाउँपालिकामा कांग्रेसलाई अध्यक्षमा अन्य दलले सघाउने निर्णय भएको छ ।

    त्रिवेणीमा एमालेलाई अध्यक्षमा कांग्रेसले सघाउने र उपाध्यक्षमा एमालेले कांग्रेसलाई सघाउने सहमति भएको छ । सुनिलस्मृती गाउँपालिकामा कांग्रेसलाई अन्य दलले अध्यक्षमा सघाउने गरी गठबन्धन भएको छ । सुनछहरीमा विप्लव नेतृत्वको नेकपा र कांग्रेसबीच गठबन्धन भएको छ ।

    प्युठान
    प्युठानका ९ पालिकामध्ये एमालेले जितेका ३ पालिकामा सत्ता गठबन्धनका पाँच वटै दलबीच गठबन्धन भएको छ । स्वर्गद्वारी नगरपालिका तथा सरुमारानी र माण्डवी गाउँपालिकामा एमालेविरुद्ध कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राजमो र जसपा एक भएर उम्मेदवारी दिएका छन् । माण्डवीमा त विप्लव नेतृत्वको नेकपा पनि गठबन्धनमा छ । अन्य पालिकामा कतै कांग्रेस र राष्ट्रिय जनमोर्चा, कतै माओवादी र कांग्रेसबीच गठबन्धन भएको छ । ऐरावती, मल्लरानी र झिमरुकमा नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन भएको छ । प्युठान नगरपालिका, गौमुखी र नौबहिनी गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको छ ।

    झिमरुकमा माओवादी केन्द्रले पनि अध्यक्षसहित पदहरुमा उम्मेदवारी दिएको छ । ऐरावतीमा कांग्रेसले पालिका अध्यक्ष र राष्ट्रिय जनमोर्चाले उपाध्यक्ष पाउने सहमती छ । मल्लरानीमा पनि गाउँपालिका अध्यक्ष राजमोले र उपाध्यक्ष कांग्रेसले पाउने सहमति छ । यहाँ राष्ट्रिय जनमोर्चाका कृष्ण खड्काले अध्यक्षमा र कांग्रेसका रमेश श्रेष्ठले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । यस्तै माओवादी केन्द्रबाट अध्यक्षमा टिएस गुरुङ र उपाध्यक्षमा रुकमणि भटराईले उम्मेदवारी दर्ता गराएका छन् ।

    गौमुखी गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच तालमेल छ । गौमुखीको पालिका अध्यक्षमा कांग्रेसवाट विष्णु कुमार गिरी र उपाध्यक्षमा माओवादीका महाबिर रानाले उम्मेदवारी दिएका छन् । माण्डवी गाउँपालिकामा सत्ता गठबन्धनलाई विप्लवको पनि साथ छ । माण्डवीमा माओवादी केन्द्रका नवराज अधिकारीले अध्यक्षमा र कांग्रेसका पूर्णबहादुर कालाथोकीले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।

    सरुमारानी गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्रले चुनाबी तालमेल गरेका छन् । पालिका अध्यक्षमा कांग्रेसका मुकुन्दराज शर्माले र उपाध्यक्षमा माओवादीबाट गुप्त बहादुर रानाले मनोनयन दर्ता गराएका छन् ।

    अर्घाखाँची
    अर्घाखाँची जिल्लामा सत्ता गठबन्धनको जसपा बाहेकका चार दलबीच गठबन्धन भएको छ । यहाँ नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा र माओवादी केन्द्र र एकीकृत समाजवादीले तालमेल गरेर उम्मेदवारी दिएका छन् । एकीकृत समाजवादीले प्रमुख र उपप्रमुख पाएको छैन । उसले वडा तहमा मात्रै चित्त बुझाएको छ ।

    पाणिनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा कांग्रेसबाट क्रमशः अच्युत गौतम र लक्ष्मी गौतमको उम्मेदवारी दर्ता भएको छ । सन्धिखर्क नगरपालिकामा कांग्रेस र माओवादीको गठबन्धन भएको छ । प्रमुखमा कांग्रेसकी शान्ता भण्डारी र उपप्रमुखमा माओवादी केन्द्रका राजेन्द्र भुसालको उम्मेदवारी दर्ता भएको छ ।

    शीतगंगा नगरपालिकामा पनि कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको छ । प्रमुखमा कांग्रेसबाट छविलाल पौडेल र उपप्रमुखमा माओवादी केन्द्रका टीका रेश्मीको उम्मेदवारी दर्ता भएको छ । भुमिकास्थान नगरपालिकाको प्रमुखमा गठबन्धनबाट जनमोर्चाको झविलाल थापा र माओवादी केन्द्रका बालकृष्ण बन्जाडेको उम्मेदवारी दर्ता भएको छ ।

    मालारानी गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका पदम क्षेत्री र उपाध्यक्षमा शोभाखर खनालको उम्मेदवारी दर्ता भएको छ । छत्रदेव गाउँपालिकाको अध्यक्षमा कांग्रेसबाट चन्द्रमान श्रेष्ठ र उपाध्यक्षमा इन्दिरा भुसालको उम्मेदवारी दर्ता भएको छ ।

    कपिलवस्तु
    १० वटा पालिका रहेको कपिलवस्तुमा सत्ता गठबन्धनमा आवद्ध पाँच दलमध्ये कांग्रेस बाहेकका चार दलको अलग्गै गठबन्धन बनेको छ । जिल्लामा माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको चार दलीय गठबन्धन बनेको छ । चारदलीय गठबन्धनबाट वाणगंगाको मेयरमा माओवादी केन्द्र र उपमेयरमा नेकपा एकीकृत समाजवादीले उम्मेदवारी दिएका छन् ।

    शिवराज नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी बीच चुनावी गठबन्धन भएको छ । एकीकृत समाजवादीबाट मेयर र उपमेयर पदमा माओवादी केन्द्रबाट उम्मेदवारी परेको छ ।

    रुपन्देही
    रुपन्देहीका १६ पालिकामध्ये जिल्लाको दक्षिणी भेगका लुम्बिनी सांस्कृतिक नगरपालिका तथा मर्चवारी, सम्मरीमाई, कोटहीमाई, मायादेवी र गैडहवा गाउँपालिकामा गरी ६ पालिकामा गठबन्धनमा आवद्ध दलहरूबीच मित्रवत प्रतिस्पर्धा गर्ने र बाँकी पालिकामा गठबन्धन गरेर जाने सहमति भएको थियो । तर मनोनयनको दिनसम्म आइपुग्दा अरु पालिकामा पनि पाँच दलबीच कतै पनि गठबन्धन हुन सकेन ।

    तिलोत्तमामा कांग्रेस र माओवादी केन्द्रबीच मात्रै गठबन्धन भएको छ । मेयरमा कांग्रेसका रामकृष्ण खाँण र उपमेयरमा माओवादी केन्द्रका हेमन्त पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एकीकृत समाजवादीले जिल्लाका १६ मध्ये १० पालिकामा मेयर र उपमेयर तथा अध्यक्ष उपाध्यक्ष गरी १५ जनाले उम्मेदवारी दिएका छन् । सैनामैनामा राष्ट्रिय जनमोर्चासँग गठबन्धन गरेको छ ।

    पार्टीले बुटवलका १९ मध्ये १४ वटा वडामा अध्यक्ष उम्मेदवार उठाएको पार्टीको जिल्ला उपसचिव सरिता श्रीसले बताइन् । ‘गठबन्धनका पहिलो शक्ति कांग्रेस र दोस्रो शक्ति माओवादी केन्द्रले गठबन्धनको मर्म अनुसार अरु दललाई सम्मानजनक सिट दिन नचाहेपछि गठबन्धन प्रभावकारी हुन सकेन,’ श्रीसले भनिन् ।

    गठबन्धनभित्रकै जनता समाजवादी पार्टी जिल्लाका १६ वटै पालिकामा गठबन्धनमा सामेल भएको छैन । उसले पनि एक्लै उम्मेदवारी दिएको छ ।

    गुल्मी
    गुल्मीका १२ वटा पालिकामध्ये ११ पालिकामा गठबन्धनभित्रका दलहरुबीच फरक–फरक गठबन्धन भएको छ । गुल्मीदरवार गाउँपालिकामा भने गठबन्धन भएको छैन । यहाँ एमाले, कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीले छुट्टाछुट्टै प्रतिस्पर्धा गर्ने भएका छन् ।

    कालिगण्डकी र छत्रकोट गाउँपालिकामा कांग्रेस र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन भएको छ । दुबै पालिकामा कांग्रेसले प्रमुख र जनमोर्चाले उपप्रमुख पाएका छन् । सत्यवती, चन्द्रकोट र रुरु क्षेत्र गाउँपालिका कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको छ । सत्यवतीमा कांग्रेसले प्रमुख र माओवादीले उपप्रमुख पाएको छ । कांग्रेसबाट अध्यक्षमा पारिश्वर ढकाल, उपाध्यक्षमा तेजकुमारी थापाले मनोनयन दर्ता गराएका छन् । यस्तै राष्ट्रिय जनमोर्चाबाट ओमबहादुर कुँवर र स्वतन्त्रबाट ठगप्रसाद शर्माले अध्यक्षमा मनोनयन दर्ता गराएका छन् ।

    चन्द्रकोट र रुरु क्षेत्र गाउँपालिकामा माओवादीले प्रमुख र कांग्रेसले उपप्रमुख पाएको छ । चन्द्रकोटको अध्यक्षमा माओवादीका युवराज केसी र उपाध्यक्षमा कांग्रेसबाट विष्णुप्रसाद भण्डारीले उम्मेदवारी दर्ता गराए । रेसुङ्गा नगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको छ । यहाँ मेयर र उपमेयर तथा वडा अध्यक्षहरु कांग्रेसले पाएको छ भने माओवादी केन्द्रले वडा सदस्यमा चित्त बुझाएको छ ।

    मुसिकोट नगरपालिकामा कांग्रेस र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन भएको छ । यहाँ प्रमुख कांग्रेसले र उपप्रमुख समाजवादीले पाएको छ । कांग्रेसबाट प्रमुखमा हरिनारायण सापकोटा र उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका श्रीराम महतले मनोनयन दर्ता गराएका छन् ।

    इस्मा गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको छ । यहाँ प्रमुख÷उपप्रमुख कांग्रेसले र वडा सदस्यमा माओवादीले उम्मेदवारी दिएका छन् मालिका गाउँपालिकामा माओवादी केन्द्र र कांग्रेसबीच गठबन्धन भएको छ । यहाँ माओवादीले प्रमुख र कांग्रेसले उपप्रमुखमा उम्मेदवारी दिएका छन् ।

    धुर्कोट गाउँपालिकामा कांग्रेस र एकीकृत समाजवादीबीच गठबन्धन भएको छ । कांग्रेसले प्रमुख र समाजवादीले उपप्रमुखमा उम्मेदवारी दिएका छन् । मदाने गाउँपालिका कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको छ । यहाँ कांग्रेसले प्रमुख र माओवादीले उपप्रमुखमा उम्मेदवारी दिएका छन् ।

    गुल्मीदरबारमा गठबन्धन भएन
    गुल्मीदरबार गाउँपालिकामा कांग्रेसबाट अध्यक्षमा सरोजकुमार थापा, उपाध्यक्षमा तारा थापा ढेंगाको मनोनयन दर्ता भएको छ ।

    यस्तै नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा शेरबहादुर सर्तुङ्गे र उपाध्यक्षमा शिखा रेश्मीले मनोनयन दर्ता गराएका छन् । यस्तै नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्षमा नगेन्द्र किरण ठकुरीले पनि मनोनयन दर्ता गराएका छन् ।

    पाल्पा
    पाल्पाका १० स्थानीय तहमध्ये ६ कांग्रेस, २ माओवादी केन्द्र र २ पालिका नेकपा एकीकृत समाजवादीले भागबण्डा गरेका छन् । कांग्रेसको भागमा परेको माथागढी गाउँपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सचिव सन्तोष कुमार थापाले अध्यक्ष र विजया भट्टराईले उपाध्यक्षमा मनोनयन दर्ता गराएका छन् ।

    यस्तै रैनादेवी छहरा गाउँपालिकामा कांग्रेसको भागमा परेको पालिका अध्यक्षमा रुक्मागत भट्टराई र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका युवराज थापाले उम्मेदवारी दर्ता गरेका छन् । यस्तै रम्भा गाउँपालिकामा नेकपा एकीकृत समाजवादीका दुर्गा प्रसाद अधिकारीले अध्यक्षमा र कांग्रेसको तर्फबाट उपाध्यक्ष पदमा विष्णु थापाले उम्मेदवारी दर्ता गरेका छन् ।

    यस्तै तानसेन नगरपालिकामा नेपाली कांग्रेसका सन्तोषलाल श्रेष्ठले प्रमुख र नेकपा माओवादीकी प्रतीक्षा सिंजालीले उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् ।

    रामपुर नगरपालिकामा नेपाली कांग्रेसका रमण बहादुर थापा र उपप्रमुखमा कांग्रेसकै बालकुमारी थापाले उम्मेदवारी दिएका छन् । अन्य दललाई वडा मात्रै दिइएको छ । रिब्दीकोट गाउँपालिकामा माओवादीका नारायणबहादुर कार्कीले अध्यक्ष र काँग्रेसका कान्ता अधिकारीले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।

    तिनाउ गाउँपालिकामा गठबन्धनबाट माओवादी केन्द्रका राजेश श्रेष्ठ र उपाध्यक्षमा कांग्रेसका लालबहादुर थापाले उम्मेदवारी दिएका छन् । पूर्वखोला गाउँपालिकामा नेकपा एकीकृत समाजवादीका मिन गिरीले अध्यक्ष र कांग्रेसका विष्णु कुमारी आचार्यले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । निस्दी गाउँपालिकामा कांग्रेसका गोविन्द प्रसाद अर्यालले अध्यक्ष र नेकपा माओवादी केन्द्रका रामप्रसाद खत्रीले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

    यस्तै बगनासकाली गाउँपालिमा गठबन्धनको तर्फबाट अध्यक्षमा कांग्रेसका सुनिता अधिकारी र उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका कमल पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् ।

    पश्चिम नवलपरासी
    पश्चिम नवलपरासीमा सत्ता गठबन्धनका सबै दलबीच तालमेल हुन सकेन । सुनवल र बर्दघाट नगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका छन् । त्यहाँ दुवै प्रमुख पद कांग्रेसले लिएको छ । उपमेयर माओवादी केन्द्रलाई दिइएको छ ।

    सुनवल नगरपालिकामा कांग्रेसबाट पार्टी सभापति अर्जुन कुमार पोखरेल छन् भने माओवादी केन्द्रबाट उपमेयरमा लेखनाथ खरेल उमेदवार छन् । त्यस्तै बर्दघाट नगरपालिकाको मेयर उम्मेदवारमा नेपाली कांग्रेसका शम्भु श्रेष्ठ छन् भने माओवादी केन्द्रका रुद्रप्रकाश उपाध्यायलाई उपमेयरको उम्मेदवार बनाइएको छ ।

    १३ वटा वडा रहेको सुनवल र १६ वटा रहेको बर्दघाटमा ३÷३ वटा वडाका अध्यक्ष लिएर माओवादी केन्द्रले चित्त बुझाएको छ । गठबन्धनले बर्दघाटमा मात्र नेकपा एकीकृत समाजवादीलाई एउटा वडा अध्यक्ष र १४ सदस्य दिएको छ ।
    गठबन्धनको अर्को घटक जसपा र माओवादी केन्द्रले रामग्राम नगरपालिकामा गठबन्धन गरेका छन् ।

    जसपाले मेयर र माओवादी केन्द्रले उपमेयर लिएको छ । जसअनुसार मेयरमा गोविन्द चौधरी र उपमेयरमा शैलेन्द्र सहानी छन् । १८ वटा वडा रहेको रामग्राममा ३ वटा वडा माओवादी केन्द्रले पाएको छ । ७ स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहमा गठबन्धनका दलहरु एक्लाएक्लै चुनाव लडेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend