logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • भरतपुरको चुनावी अवस्था बुझेर केही घण्टामै काठमाडौं फर्किए प्रचण्ड

    भरतपुरको चुनावी अवस्था बुझेर केही घण्टामै काठमाडौं फर्किए प्रचण्ड

    6.7K
    Shares

    चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मंगलबार विहान चितवनको भरतपुर पुगेर काठमाडौं फर्किएका छन् । भरतपुर महानगरको मेयरमा पुत्री रेनु दाहालले दोस्रोपटक मेयर पदमा उम्मेदवारी दिएको भोलिपल्ट प्रचण्ड भरतपुर पुगेर केही घण्टाभित्रै काठमाडौं फर्किएका हुन् ।

    उनी पार्टीका नेताहरुसँगको महत्वपूर्ण भेटघाटका लागि भरतपुर पुगेको माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारीले जानकारी दिए । ‘उहाँको पारिवारिक भेटघाट पनि हो, यहाँका नेता कार्यकर्तासँग भेटघाट र वस्तुस्थितिको बारेमा जानकारी लिन आउनुभएको हो’ संयोजक अधिकारीले भने ।

    सत्तारुढ गठबन्धनले महानगरपालिकाका उम्मेदवार भागवण्डा गर्दा भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवा माओवादी केन्द्रले पाएको छ । तर मेयरको उम्मेदवार आफूहरुले पाउनुपर्ने भन्दै कांग्रेसका जिल्लास्तरका कतिपय नेताहरुले विरोध जनाएका छन् । केही नेताले स्वतन्त्र रुपमा उम्मेदवारी पनि दिएका छन् ।

    यही विषयलाई लिएर प्रचण्ड चितवन आए पनि कांग्रेस नेताहरुसँग भेट भने गरेनन् । कांग्रेस चितवनका सभापति राजेश्वर खनालले प्रचण्डसँग भेटघाट नभएको तर फोन भने गरेको बताए ।

    ‘उहाँले फोन गर्नुभयो, अवस्थाका बारेमा जानकारी लिनुभयो, ५÷६ घण्टाका लागि आएको भन्नुभयो’ सभापति खनालले भने, ‘३÷४ दिनपछि आउँछु अनि बसेर कुराकानी गरौंला भन्नुभयो, मैले हुन्छ भनेँ ।’

    चितवनमा असन्तुष्ट कांग्रेसका तर्फबाट पूर्वसांसद जगन्नाथ पौडेलले मेयरमा बागी उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेसका तर्फबाट भरतपुर महानगरमा मेयरका बागी उम्मेदवार जगन्नाथ पौडेलले प्रचण्डसँग कुनै भेटघाट वा कुराकानी नभएको बताए । उनले भने, ‘सत्ता गठबन्धनका नेताहरुसँग कुराकानी भने भइरहेको छ तर मैले उम्मेदवारी फिर्ता लिन्न ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend