काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता तथा नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक डा. प्रकाश शरण महतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै दिनुभएको अभिव्यक्ति खेदजनक भएको बताएका छन् । नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बुधबार अपरान्ह आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
उनको संयोजकत्वमा बनेको केन्द्रीय प्रचार–प्रसार समिति अन्तरगतको नेपाली कांग्रेस सांस्कृतिक समन्वय प्रचार–प्रसार उपसमितिले आयोजना गरेको निर्वाचन भिडियोको विमोचन कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट संबोधन गर्दै उनले भने,“देशमा निर्वाचन आचारसंहिता लागू भैसकेको छ तर नेकपा एमालेका अध्यक्षको मुखबाट नेपाली कांग्रेस र हामीले सार्वजनिक गरेको घोषणापत्रप्रति निकै तल्लो स्तरको अभिव्यक्ति दिनुभएको छ । सामान्य अवस्थामा पनि बोल्न नहुने अभिव्यक्ति खेदजनक छन् ।”
नेपाली कांग्रेसका प्रवक्ता तथा केन्द्रीय निर्वाचन प्रचार–प्रसार समितिका संयोजक डा. महतले एमालेले आचार संहिताको धज्जी उडाएको र त्यसप्रति संबन्धित निकायले ध्यानाकर्षण गर्न नसकेको भन्दै निर्वाचन आयोगप्रति रोष पनि प्रकट गरे ।
नेकपा एमालेका अध्यक्ष ओलीले मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा नेपाली काग्रेसको सङ्कल्प पत्रलाई बकवास र पागलहरुको प्रलाप भनेर तुच्छ टिप्पणी गरेका थिए ।
नेपाली कांग्रेसका प्रवक्ता तथा नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक डा. महतले आफ्नो पार्टीले शालिनतापूर्वक निर्वाचन अभियान सञ्चालन गरेको पनि बताए ।