logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • स्थानीय चुनावः निर्वाचन आयोगको कार्यसम्पादन फितलो

    स्थानीय चुनावः निर्वाचन आयोगको कार्यसम्पादन फितलो

    3.2K
    Shares

    काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि मनोनयनपत्र दर्ता भएको २८ घण्टा बित्दा पनि देशभरि कतिजनाको उम्मेदवारी पर्‍यो भन्ने यकिन विवरण संकलन गर्न निर्वाचन आयोग असफल भएको छ। वैशाख ३० मा हुने निर्वाचनका लागि आइतबार र सोमबार मनोनयनपत्र दर्ता समय तोकेको आयोगले मंगलबार रातिसम्म कतिजनाले उम्मेदवारी दिए भन्ने यकिन विवरण संकलन गर्न सकेको छैन।

    उम्मेदवारी दिनेको यकिन विवरण बेलैमा संकलन गर्न नसक्दा आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका प्रभावित भएको छ। आयोगको कार्यसम्पादन फितलो हुँदा वैशाख ३० को निर्वाचन नै प्रभावित हुने त होइन भन्ने आशंका जन्मिएको छ।

    आयोगमा स्थानीय तहको चुनावका लागि आबद्धता जनाएका ७९ वटा राजनीतिक दलका र स्वतन्त्र गरी करिब डेढ लाख उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन्। आयोगका अनुसार उम्मेदवारको अन्तिम सूची बुधबारमात्रै सार्वजनिक हुनेछ।

    देशभरका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिकाको आगामी पाँच वर्षे नेतृत्व चयनका लागि चुनाव हुँदैछ। ७५३ वटा स्थानीय तहका ३५ हजार २२१ पदमा मंगलबार राति ९ बजेसम्म १ लाख ५० हजार ४९४ जनाको उम्मेदवारी दर्ता भएको विवरण प्राप्त भएको जानकारी आयोगले दिएको छ।

    आयोगका अनुसार महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकाको प्रमुख पदका लागि ३ हजार ४६६, उपप्रमुखमा २ हजार १३६, गाउँपालिकाको अध्यक्षमा ३ हजार ३७८, उपाध्यक्षमा २ हजार ३९२, वडाध्यक्षमा ३४ हजार ९४३, महिला सदस्यमा २६ हजार ६३, दलित महिला सदस्यमा २३ हजार ४७० र खुला सदस्यमा ५४ हजार ६४६ जनाले मनोनयनपत्रको दर्ता गरेको आयोगले जनाएको छ। उम्मेदवारको विवरण ‘अपडेट’ हुन अझै बाँकी रहेको आयोगले जनाएको छ।

    नेकपा एमालेका तर्फबाट प्रमुखमा २८८, अध्यक्षमा ४४६, उपप्रमुखमा २८३, उपाध्यक्षमा ४४५, वडाध्यक्षमा ६ हजार ४६८ जनाको उम्मेदवारी परेको छ। नेपाली कांग्रेसबाट प्रमुखमा २६३, अध्यक्षमा ३८२, उपप्रमुखमा २१०, उपाध्यक्षमा ३५९, वडाध्यक्षमा ६ हजार ७९ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ। अन्य दलबाट कति उम्मेदवारी पर्‍यो भन्ने विवरण आयोगले उपलब्ध गराउन सकेको छैन। यो समाचार आजको नागरिक दैनिकमा छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend