
चितवन । भरतपुर महानगरपालिकाको मेयर पदमा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले गृहमन्त्री बालकृष्ण खाँणलाई पनि उम्मेदवारी फिर्ता नलिने जवाफ दिएका छन् ।
आज बिहान गृहमन्त्री खाँणलाई भेटेपछि पत्रकारहरुसँग कुरा गर्दै पौडेलले उम्मेदवारी फिर्ता नहुने ठाउँमा पुगिसकेको जवाफ आफूले दिएको जानकारी दिए ।
उनले भने, ‘नोमिनेसन फिर्ता गर्दिनुस् भन्ने उहाँको (गृहमन्त्री खाँणको) भनाइ हो । म फिर्ता नहुने ठाउँमा पुगिसकेको छु भनेर मैले भनें ।’
उनले भने, ‘यो चितवनका साथीहरुको मान मर्यादा, प्रतिष्ठा, उहाँहरुको भविष्यसँग जोडिएको कुरा हो । यो मैले एक्लै निर्णय गर्ने विषय होइन । त्यसो भएको हुनाले मलाई गाह्रो छ । यो गर्न म सम्भव देख्दिनँ ।’
गृहमन्त्री खाँणले फेरि छलफल गर्ने प्रस्ताव राखेको र आफूले हुन्छ भनेको जानकारी पनि उनले दिए । पौडेललाई भेटेपछि गृहमन्त्री खाँणले भने, पौडेलले उम्मेदवारी फिर्ता लिने विश्वास व्यक्त गरे ।
खाँणले भने, ‘जगन्नाथ पौडेलले पार्टीको निर्णय मान्नुहुन्छ भन्ने मेरो विश्वास छ, पार्टीको निर्णय सबैले मानेर जान्छन् ।’ पौडेल कांग्रेसको प्रतिबद्ध कार्यकर्ता भएको भन्दै खाँणले पार्टीको निर्णय कार्यान्वयनमा उनले मद्दत गर्ने विश्वास व्यक्त गरे ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend