logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • गठबन्धनको मर्म र भावनालाई पूर्णरूपमा परिपालना गर्न अध्यक्ष प्रचण्डको आग्रह

    गठबन्धनको मर्म र भावनालाई पूर्णरूपमा परिपालना गर्न अध्यक्ष प्रचण्डको आग्रह

    5.6K
    Shares

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पाँच दलीय गठबन्धनमा रहेका र उम्मेदवारी दिएका उम्मेदवारलाई विजयी गराउनुपर्ने दायित्वबाट बिमुख नहुन आग्रह गरेका छन् । मध्यपुरथिमि नगरपालिकामा गठबन्धनका तर्फबाट प्रमुख तथा उपप्रमुख उम्मेदवारलाई स्थानीय तह निर्वाचनका सन्दर्भमा आवश्यक निर्देशन दिदै उनले गठबन्धनको मर्म र भावनालाई पूर्णरूपमा इमान्दार भएर परिपालना गर्न आग्रह गरे ।

    अध्यक्ष दाहालले चुनावी तयारीबारे बुझ्दै आवश्यक निर्देशन दिएको माओवादीका कन्द्रीय सदस्य डिपी ढकालले जानकारी दिए । गठबन्धनका तर्फबाट प्रमुखका उम्मेदवार सुरेन्द्र श्रेष्ठ र उपप्रमुखका उम्मेदवार विजयकृष्ण श्रेष्ठसँग उनले आज छलफल गरेका हुन् ।

    अध्यक्ष दाहालले वर्तमान गठबन्धनको विरुद्धमा देशी–विदेशी शक्ति लागिरहेकाले उनीहरूको भ्रम र प्रहारलाई परास्त गर्दै एकढिक्का भएर चुनावी अभियानमा लाग्न निर्देशन दिएको नेता ढकालको भनाइ छ । अध्यक्ष दाहालले लोकतन्त्र र संविधान रक्षाका लागि जनताले गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्ने विश्वाससमेत व्यक्त गरे ।

    देशैभर गठबन्धनको पक्षमा जनता खुलेर लागेको जानकारी गराउँदै उनले स्थानीय चुनावले प्रतिगामी र यथास्थितिवादीहरूलाई पाखा लगाउँदै लोकतान्त्रिक र अग्रगामी शक्तिलाई स्थानीय सरकारको साँचो सुम्पने दाबी गरे । व्यवस्था परिवर्तनमा नेपाली कांग्रेस र माओवादी केन्द्रको नेतृत्वदायी भूमिका रहँदै आएको स्मरण गर्दै अध्यक्ष दाहालले वर्तमान गठबन्धन व्यवस्था रक्षाका लागि भएको र सम्पूर्ण मतदातालाई यो कुरा बुझाउनु आवश्यक भएको बताए ।

    उनले मध्यपुरथिमिमा आफू पटक–पटक आइरहेको र यहाँको समस्याबारे जानकार रहेको भन्दै मध्यपुरलाई नमूना नगरपालिकाको रूपमा विकास गर्न आफ्नो र पार्टीको तर्फबाट सक्दो पहल गर्ने बताए ।

    “अध्यक्षले अगाडि बढ्नुस्, मध्यपुरलाई नमूना नगर बनाउन मेरो साथ रहन्छ भन्नुभएकाले उत्साहित भएर आएका छौँ”, उपप्रमुखका उम्मेदवार विजयकृष्ण श्रेष्ठले भने । मध्यपुरथिमिमा गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार सुरेन्द्र श्रेष्ठ नेपाली कांग्रेसका निवर्तमान नगर सभापति छन् भने उपप्रमुख उम्मेदवार विजयकृष्ण श्रेष्ठ माओवादी केन्द्रका नगर अध्यक्ष छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend