काठमाडौं । आइतबार राति १२ बजेदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षक अवकाशमा जाँदैछन् ।
दुवै सुरक्षा निकायको नयाँ प्रहरी प्रमुख नियुक्त गर्न बिहान ११ बजे मन्त्रिपरिषद् बैठक बस्ने भनिएको थियो । दिउँसो १ बजे मात्रै मन्त्रपरिषद् बैठक बस्यो र नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धिरजप्रताप सिंहलाई बढुवा ग¥यो ।
तेस्रो नम्बर वरियतामा रहेका सिंहलाई बढुवा गरिएपछि पहिलो वरियताका विश्वराज पोखरेल र दोस्रो वरियताका सहकुलबहादुर थापाले अदालत जाने तयारी गरेका छन् । तर बैठकले सशस्त्र प्रहरी बलको महानिरिक्षकबारे चाहिँ कुनै निर्णय गरेन । एक मन्त्रीका अनुसार सशस्त्र प्रहरी बलको महानिरीक्षक नियुक्तिबारे मन्त्रपरिषद् बैठकमा छलफल नै भएन ।
सशस्त्र प्रहरीमा आईजीपी नियुक्तिका लागि एआईजी राजु अर्याल एकल दाबेदार हुन् । उनलाई महानिरीक्षक बनाउन बाटो खुला गर्ने गरी सरकारले एक साताअघि एआईजी अर्याललाई एकल बढुवा गरेको थियो ।
गृह मन्त्रालयका एक अधिकारी भन्छन्, ‘प्राविधिक कारणले सशस्त्र प्रहरीको बढुवासम्बन्धी निर्णय नभएको हो, फेरि बस्ने बैठकले यो विषय टुंग्याउँछ ।’ मन्त्रालयममा चाहिँ नेपाल प्रहरीका हालका आईजीपी शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरीका आईजीपी पुष्पराम केसीको विदाइ समारोह चलिरहेको छ ।