logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • घरदैलो अभियानमा पाल्पामा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप, दुई जना घाइते

    घरदैलो अभियानमा पाल्पामा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप, दुई जना घाइते

    8.2K
    Shares

     

    पाल्पा । स्थानीय तह निर्वाचनअन्तर्गत उम्मेदवारहरुको घरदैलो अभियानमा पाल्पाको रामपुर नगरपालिका–१०, झेडीबजार सिकोडाँडामा आइतबार नेकपा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ । झडपमा दुई कार्यकर्ता घाइते भएका छन् ।

    नारा लगाएको विषयमा भएको झडपमा रामपुर नगरपालिका–१०, गेझाका डिल्लीराज न्यौपाने र जीवन परियार घाइते भएका हुन् । प्रहरी उपरीक्षक जनकबहादुर शाहीले चुनाव प्रचारप्रसारको क्रममा झडप भएको बताए । कांग्रेस रामपुरले विज्ञप्ति निकालेर गठबन्धनका चुनाव प्रचारका क्रममा युवालाई एमाले कार्यकर्ताहरुले विथोल्ने प्रयास गरेको आरोप लगाएको छ । त्यसै क्रममा झडप भएको रामपुर नगर सभापति नेत्रप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

    एमाले रामपुर नगरपालिका–१०, गेझाका अध्यक्ष टंकप्रसाद खनालले कांग्रेसले घरदैलो कार्यक्रमको सही जानकारी नदिएको र सामान्य नारा लगाउने क्रममा झडप भएको बताए । एमाले युवाहरुले ‘कांग्रेसको पत्ता साफ’ भन्ने नारा लगाएपछि झडप सिर्जना भएको जनाइएको छ ।

    आइतबार नै एमालेले उम्मेदवारसहितको घरदैलो कार्यक्रम तथा आमसभा गरेको थियो । गठबन्धनले पनि घरदैलो कार्यक्रम टोलहरुमा गरिरहेको छ । गठबन्धन र एमालेको प्रचारप्रसार टोलीबीच भेट हुन नदिन समन्वय गर्दागर्दै घटना भएको अध्यक्ष खनालले बताए ।

    कांग्रेसले भने एमाले कार्यकर्ताहरु गठबन्धन भएको स्थानमा पुगेर कुटपिट गरेको आरोप लगाएको छ । झडपको क्रममा प्रचारप्रसारमा प्रयोग गरिएको स्कर्पियो, बस र मोटरसाइकलमा क्षति पुगेको छ । घटनाप्रति कांग्रेस रामपुरले ध्यानाकर्षण भएको र घटनाप्रति खेद प्रकट गरेको छ ।

    शान्तिपूर्ण प्रचारप्रसार गर्न पाउने स्वतन्त्रताको अधिकार सुनिश्चित गर्न प्रशासनलाई आग्रह गरेको कांग्रेसका रामपुर नगर सभापति भट्टराईले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend