काठमाडौं । गृहसचिव टेकनारायण पाण्डेले धिरजप्रताप सिंहलाई आइजिपी नियुक्तिबारे थप प्रष्टाउन खोजेका छन् ।
आज मन्त्रालयमा नवनियुक्त आइजिपी सिंहलाई दर्ज्यानी चिन्ह लगाउने कार्यक्रममा गृहसचिव पाण्डेले सरकारले छनौट गरेका सिंह प्रहरी संगठनलाई पनि उपयुक्त भएको दाबी गरेका थिए ।
परिपक्कता, जेष्ठता, कार्यकुशलता र कार्यक्षमताले गर्दा सरकारले सिंहलाई आइजिपी बनाएको पनि उनले बताए ।
‘घरमा पनि अभिभावकले सबै सन्तानलाई उत्तिकै माया गरेको पाइँदैन,’ सचिव पाण्डेले भने, ‘घरमा पनि विभेद हुन्छ ।
अहिले भएका एआइजीमध्ये सरकारले सिंहलाई छनौट गर्यो । उनलाई अभिभावकीय भूमिका हिसाबले सरकारले मन परायो ।’
सिंहमा उत्तरदायित्व बहन गर्ने क्षमता, आफूभन्दा मुनिकालाई प्रोत्साहन र परिचालन गर्ने क्षमता भएको दाबी पनि उनको थियो ।
‘सिंहमा क्षमता देखेर आइजिपी नियुक्त गरेको हो,’ सचिव पाण्डेले थपे, ‘सरकारले छनौट गरेको आइजिपी संगठनलाई पनि बढी भन्दा बढी उपयुक्त हुन्छ ।’