काठमाण्डौ । नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्धको रिटको सुनुवाइ आज हुने भएको छ । मन्त्रिपरिषद्ले नेपाल प्रहरीको २९ औँ आईजीपीमा धिरजप्रताप सिंहलाई नियुक्त गरेपछि असन्तुष्ट भएका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले वैशाख १९ मा सर्वोच्चमा रिट दायर गरेका हुन् ।
एआईजी पोखरेल सिंहभन्दा १६ महिना पहिलो एआईजीमा बढुवा भएका थिए । उनले वरिष्ठता र कार्यसम्पादन मूल्यांकनमा आफु अगाडी रहेको भन्दै सिंह नियुक्ति कानुनविपरीत भएको रिटमा दावी गरेका छन् ।
रिट निवेदनमा पोखरेलले संविधानको धारा ४६ तथा १३३ को उपधारा २ र ३ बमोजिम उत्प्रेषण र परमादेश समेतको माग दाबी गर्दै रिट निवेदन दर्ता गराएका हुन् । पोखरेलले आफू नै वरिष्ठ अतिरिक्त प्रहरी महानिरीक्षक रहेको हुँदा परमादेशमार्फत प्रहरी महानिरीक्षक बनाउन माग दाबी समेत गरेका छन् ।
पोखरेलको पक्षमा कानुन व्यवसायीहरु सतिस खरेल र हरिहर दाहाललगायतले आज बहस गर्नेछन् । सर्वोच्चले आज अन्तरिम आदेश दिन्छ वा छलफलका लागि दुवै पक्षलाई बोलाउंछ उक्त विषयलाई चांसोका साथ हेरिएको छ ।