काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाको अध्यक्षमा बैंकर परशुराम कुँवर क्षेत्री नियुक्त भएका छन्। बैंक तथा वित्तीय क्षेत्रमा अत्यन्तै सफल मानिने कुवँरलाई सञ्चालक समितिले कम्पनीको अध्यक्ष पदमा नियुक्त गरेको हो।
नवनियुक्त अध्यक्ष कुवँरले बुधबार नेपाल राष्ट्र बैंक भुक्तानी सेवा विभागका कार्यकारी निर्देशक गुरूप्रसाद पौडेल समक्ष पद तथा गोपनियताको सपथ लिए।
बैंकिङ क्षेत्रमा करिब साढे तीन दशक लामो अनुभव लिएका कुँवरले सन् १९८६ देखि तत्कालिन ग्रिण्डलेज (हाल स्टाण्डर्ड चाटर्ड) बैंकबाट आफ्नो बैंकिङ करिअर सुरू गरेका हुन्। त्यसपछि उनले नेपाल बैंक र सिटिजन्स बैंक इन्टरनेशनलमा वरिष्ठ पदमा कार्यरत हुँदै बैंक अफ एशिया, जनता बैंक र ग्लोबल आइएमई बैंकमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निर्वाह गरे।
सन् २०२० को जुलाईमा ग्लोबल आइएमई बैंंकको प्रमुख कार्यकारी अधिकृतबाट अवकास लिएका उनले पछिल्ला दिनमा बैंक तथा वित्तीय क्षेत्रका विभिन्न तहका कर्मचारीहरूलाई कर्जा र जोखिम सम्बन्धी तालिम दिदैँछन्।
ई-सेवामा अध्यक्षको रूपमा आफ्नो कार्यभार सम्हाल्दै नवनियुक्त अध्यक्ष कुवँरले भने ‘डिजिटल भुक्तानीको क्षेत्रलाई अगाडी बढाउन ई-सेवाले नेतृत्वदायी भूमिका निभाउँदै आएको छ। डिजिटल भुक्तानीको क्षेत्रमा पायोनियर मानिएको ई-सेवामा आबद्ध हुन पाउँदा निकै खुशी छु।’
ई-सेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल-कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ।
ई-सेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य छन्। यी बैंकबाट ई-सेवामा सहजै रकम जम्मा गर्न तथा बैंक खातामा पठाउन सकिन्छ। ई-सेवाको देशभर करिब एक लाख ५० हजार एजेन्ट (ई-सेवा जोन तथा पोइन्ट) छन्।