काठमाडौं । पाँच दलीय गठबन्धनले आज चितवनमा गर्न लागेको विशाल आमसभाका लागि तयार पारीएको मञ्च पानीले डुवाएको छ । केन्द्रीय बस टर्मिनल अगाडि गठबन्धनले आमसभा गर्न बुधबार नै साजसज्जा गरेको थियो । तर रातभरी परेको पानीले मञ्च नै डुवाएको छ भने हावाहुरीले सभा स्थलमा राखिएका पार्टीका व्यानर, झण्डा सबै भूइँमा ढलाएको छ । आमसभा गर्ने ठाउँमा पानीको पोखरी नै जमेको छ ।
जिल्लामा सत्ता गठबन्धनले गर्न लागेको जनसभालाई सम्बोधन गर्न देउवा हिजै चितवन पुगिसकेका छन् । उनिसँगै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि चितवन पुगेका छन् ।
सभालाई नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहितका नेताले सम्बोधन गर्ने कार्यक्रम छ । भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेतृ रेनु दाहाल प्रमुख पदमा उम्मेदवार हुन् । त्यस्तै उपप्रमुख पदमा नेपाली कांग्रेसबाट चित्रसेन अधिकारी उम्मेदवार बनेका छन् ।