चितवन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदका लागि आफ्नो पार्टी सिध्याउन लागेको टिप्पणी गरेका छन् । आईतबार चितवनमा आयोजित चुनावी सभामा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पार्टी सिद्धिने अवस्थामा पुग्दा पनि काँग्रेस कार्यकर्ताहरु के हेरेर बसेका छन भनि प्रश्न समेत गरे ।
उनले काँग्रेस कार्यकर्ताहरु प्रचण्डका छोरी रेणु दाहाललाई फेरी पनि भोट हाल्नु परेकोमा पीडामा रहेको पनि पटकपटक जिकीर गरे । प्रचण्डले केही दिन अघि भरतपुर पुगेर आफ्नी छोरीलाई मत हाल्न काँग्रेस कार्यकर्तालाई धम्क्याउने काम गरेको भन्दै ओलीले निर्वाचन आचारसंहिता विपरित हुने गरी यसरी धम्क्याउन नपाउने तर्क गरे । उनले प्रचण्डले सृजना सिंहको र प्रधानमन्त्री देउवाले रेणु दाहालको मत मागेर हिँडिरहेका बेला फरक दलको प्रचार नगर्न भनि निर्वाचन आयोगले भनेपनि कारबाही भने गर्न नसकेको आरोप लगाए । उनले निर्वाचन आयोगले सत्तारुढ गठबन्धनबाहेकलाई मात्रै निर्वाचनको आचारसंहिता लगाउने गम्भिर आशंका पनि व्यक्त गरे ।
अध्यक्ष ओलीले काँग्रेस नेताहरुले जसलाई भोट मागेपनि हुने तर कार्यकर्ताहरुले त्यसो गरे कारबाही गर्छु भन्न नमिल्ने पनि बताए ।
कार्यक्रममा बोल्दै राप्रपाका वरिष्ठ नेता विक्रम पाँण्डेले राष्ट्रवादी शक्तिहरुबीच एकतावद्ध हुनुपर्ने अवस्था आएकाले चितवनमा आफ्नो पार्टी र एमालेबीच स्थानीय तहको निर्वाचनमा सहकार्य गरेर अघि बढनुपरेको बताएका थिए ।