काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कमल थापाको तीर र राजेन्द्र लिङ्देनको हलोले एमालेको सुर्य चिन्हलाई प्वाल पारेको बताएका छन् । मंगलबार गठबन्धनको तर्फबाट गरिएको काठमाडौं महानगरपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले कमल थापाको तीर र राजेन्द्र लिङ्देनको हलोले घोचेर एमालेको सुर्य चिन्ह प्वाल पारेको बताएका हुन् ।
सत्तारुढ गठबन्धनको विरोध गर्ने एमालेले कमल थापा, राजेन्द्र लिङ्देनदेखि विप्लव र सिके राउतसम्म गठबन्धन गरिरहेको उनले बताए । कांग्रेसलाई रुखमा भोट हाल्न नपाएका विचरा भनिएको उल्लेख गर्दै उहाँले एमालेले पनि गत निर्वाचनमा ५९ वटा क्षेत्रमा सुर्यमा भोट हाल्न नपाएको र हसिया हथौडामा भोट हालेको स्मरण गराए । महामन्त्री थापाले गठबन्धनको राजनीति कसको कारणले गर्दा आएको हो भन्ने प्रश्न समेत गरे ।