logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • धादिङको नीलकण्ठ–३ र ज्वालामुखी–४ मा स्वतन्त्र उम्मेदवार विजयी

    धादिङको नीलकण्ठ–३ र ज्वालामुखी–४ मा स्वतन्त्र उम्मेदवार विजयी

    3.2K
    Shares

     

    धादिङ । जिल्ला सदरमुकाम रहेको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार राजकुमार श्रेष्ठ विजयी भएका छन् ।
    प्रमुख प्रत्यासी नेपाली कांग्रेसका गोपीकृष्ण भण्डारीसहित नेकपा एमाले र नेकपा माओवादीका उम्मेदवारलाई दोब्बर मतले पराजित गर्दै स्वतन्त्र उम्मेदवार श्रेष्ठ वडा अध्यक्षमा विजयी भएका हुन् ।

    कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र बनेका श्रेष्ठले गुलाबको फूल चिह्नबाट चुनाव लडेका थिए । श्रेष्ठले १३ सय ३९ मत प्राप्त गरे ।

    कांग्रेसका भण्डारीले ६ सय २९, नेकपा माओवादीले ३ सय ३४ र नेकपा एमालेले २ सय ४१ मत पाएका छन् । वडा सदस्यहरू भने कांग्रेसकै उम्मेदवार विजयी भएको जिल्ला निर्वाचन अधिकारी सन्तोष श्रेष्ठले जानकारी दिए ।

    कांग्रेसले आफ्नो पकड मानेको वडामा कांग्रेसबाटै बागी उठेर चुनाव जितेका श्रेष्ठले वडा अध्यक्ष बनेर पाउने सरकारी सेवा सुविधा नलिने बताएका छन् । तलब भत्तामा आउने रकम शिक्षा, स्वास्थ्य र सरसफाइमा खर्च गर्ने उनले बताएका छन् ।

    त्यस्तै, ज्वालामुखी गाउँपालिका–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार कृष्णबहादुर गुरुङ विजयी भएका छन् । कांग्रेसबाट बागी उठेका गुरुङले कांग्रेसकै आधिकारिक उम्मेदवार कृष्णलाल श्रेष्ठलाई दोब्बर भन्दा बढी मतले पराजित गरेका हुन् ।

    कांग्रेसले टिकट नदिएपछि खरायो चिन्ह लिएर चुनाव लडेका गुरुङले ११ सय ३० मत ल्याएका छन् । यो कांग्रेसका आधिकारिक उम्मेदवार श्रेष्ठको भन्दा ५ सय ९१ मत बढी हो ।

    कांग्रेसबाट टिकट पाएका उम्मेदवार श्रेष्ठले ५ सय ३९ मत पाएको ज्वालामुखी गाउँपालिकाका निर्वाचन अधिकृत हिरामणि सुवेदीले जानकारी दिए । गुरुङका अर्का प्रतिस्पर्धी एमालेका ताराबहादुर अर्यालले ५ सय ९४ मत प्राप्त गरेका छन् ।

    अहिले स्वतन्त्रबाट विजयी भएका गुरुङ २०७४ सालको स्थानीय चुनावमा कांग्रेसबाटै टिकट लिएर विजयी भएका वडा अध्यक्ष हुन् । पार्टीमा टिकट माग्दा नदिएपछि जनताको माग अनुसार नै स्वतन्त्र उम्मेदवार बनेको उनले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend