चितवन – भरतपुर महानगरपालिकाको मेयरकी उम्मेदवार रेनु दाहालले बलात्कार तथा यौन उत्पीडनका सम्बन्धमा रहेको हदम्यादबारे पुनर्विचार गर्न सरकारसँग आग्रह गरेकी छन्।
भरतपुरको निवर्तमान मेयर समेत रहेकी दाहालले यौनजन्य अपराधका अभियुक्तलाई कारबाही गर्न विद्यमान कानुनी हदम्यादका बारेमा पुनः बैज्ञानिक र व्यवहारिक व्यवस्था गर्नुपर्ने बताएकी हुन् ।
‘यौनअपराध र त्यसका अभियुक्तलाई कानुनी कठ्घेरामा ल्याउन विद्यमान कानुनी हदम्यादका बारेमा पुनः बैज्ञानिक र व्यवहारिक व्यवस्था गर्नुपर्ने देखिन्छ, ताकी पीडकलाई सजाय र पीडितलाई न्याय गर्न सकियोस । यसतर्फ राज्य र हामी सबै गम्भीर हुनु अहिलेको आवश्यकता हो’, उनले फेसबुकमा लेखेकी छन् ।
उनले ब्युटी पेजेन्टको नाममा १६ वर्षीया बालिका माथि भएको शोषणको घटनाले स्तब्ध बनाएको समेत बताएकी छन् ।
यस्तो छ भरतपुर महानगरपालिकाकी निवर्तमान मेयर रेनु दाहालको आग्रह
१६ बर्षे बालिका लाई बिभिन्न प्रभाव मा पारी गरिएको यौन शोषण को घटनाले हामी सबै स्तब्ध छौं । उमेर नपुगेका बालिका उपर जुनसुकै वाहनामा हुने/ गरिने सबै प्रकृतिका यौनजन्य दुर्ववहार हरु आपराधिक कार्य हुन भन्ने प्रष्ट कानुनी व्यवस्था छ तर कानुनी हदम्याद भित्र पनि अपराध लुक्दोरहेछ भन्ने यसै घटना बाट देखिएकोले समय भित्रै पिडित ले न्याय माग्नुपर्ने तर्फ सचेत हुदै यौनअपराध र त्यस्का अभियुक्त लाई कानुनी कठ्घेरामा ल्याउन बिद्यमान कानुनी हदम्यादका बारेमा पुनः बैज्ञानिक र ब्यवहारिक व्यवस्था गर्नुपर्ने देखिन्छ,ताकी पिडकलाई सजाय र पीडित लाई न्याय गर्न सकियोस । यसतर्फ राज्य र हामी सबै गम्भीर हुनु अहिले को आवश्यकता हो। यसको लागी सरकार र संबन्धित पक्षको गंभिर ध्यानआकर्षण गर्दछु।