कास्की । कास्कीको पोखरा महानगरपालिकाको मेयरमा विजयी बनेका धनराज आचार्यले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न सरकारसँग औपचारिक प्रस्ताव गर्ने घोषणा गरेका छन् । पोखरा महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार बनेका आचार्यले ५ हजार मत गणना बाँकी छँदै मेयरमा विजयी बनेपछि यस्तो बताएका हुन् ।
उनले शपथग्रहण पछिको पहिलो निर्णय जन्मदेखि मृत्युसम्मका रजिस्ट्रेसन गर्नुपर्ने कुराहरुलाई ६ महिनाको समयावधि भित्र निःशुल्क बनाउने निर्णय गर्ने घोषणा गरे । उनले शपथग्रहणको दिन पहिलो निर्णयका रुपमा पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न सरकारसँग औपचारिक प्रस्ताव गर्ने पनि जानकारी दिए ।
उनले महानगरपालिकाका हरेक निर्णय पोखरावासीको जीवनस्तरलाई सरल बनाउने किसिमका हुने दाबी गरे । उनले चुनावी प्रतिष्पर्धामा विभिन्न पार्टीबाट आएपनि निर्वाचित भएपछि सबै एउटै टिमको भएकोले अब पोखराको अभिभावक भएर काम गर्ने र सबै निर्णयहरु भरसक सर्वसम्मत गर्ने पनि स्पष्ट पारे ।