काठमाडौं । सरकारले मंगलवार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रमलाई सत्तापक्षले सबै विषय र क्षेत्र समेटेर आएको दाबी गरेको छ भने प्रमुख प्रतिपक्षीले भने पुरानै कार्यक्रमको निरन्तरता मात्रै भएको प्रतिक्रिया दिएको छ ।
गठबन्धन सरकारको ल्याएको यो नीति तथा कार्यक्रम न्युनतम साझा कार्यक्रम समेटेर आएको दाबी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गरेका छन् । उनले संसदको मंगवारको बैठक सकेर निस्कने क्रममा नेपालले भने, ‘नीति तथा कार्यक्रमले धेरै विषय समेटेको छ । कृषि, ऊर्जा, पूर्वाधार विकास, पर्यटन, सीप विकास, उत्पादनशील जनशक्ति युवाहरूलाई स्वरोजगार बनाउने विषयमा केन्द्रित भएर आएको छ ।’