काठमाडौं । नेपाल पत्रकार महासंघले आमसञ्चार प्रतिष्ठान तत्काल गठन गर्न सरकारसँग माग गरेको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पत्रकारितालाई दक्ष, मर्यादित, व्यवसायिक बनाउनका लागि पनि आमसञ्चार प्रतिष्ठान गठन गर्न ढिलाई नगर्न सरकारलाई दवाव दिएका हुन् ।
बुधबार काठमाडौंमा आयोजित ‘मिडियामा मिथ्या सूचनासम्बन्धि कार्यशाला’मा बोल्दै उनले पत्रकारिता क्षेत्रबाट सही सूचनाको अपेक्षा गर्ने हो भने राज्यले त्यसलाई सिकाउनका लागि मेकानिज्म बनाउने काममा आलटाल गर्न नहुने स्पष्ट पारे । सरकारले हिजो (मंगलबार) प्रस्तुत गरेको नीति तथा कार्यक्रम र यस अघिका सरकारले पनि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आमसञ्चार प्रतिष्ठान गठनका कुरा गरेपनि हालसम्म नभएकोमा अध्यक्ष पोखरेलले असन्तुष्टि व्यक्त गरे । उनले नीति तथा कार्यक्रममा समावेश गरिएको सो प्रतिष्ठान गठन गर्ने कार्यलाई कार्यान्वयनमा लैजान सरकारलाई दवाव दिन सञ्चारकर्मीहरुलाई समेत आह्वान गरे ।
अध्यक्ष पोखरेलले भने, ‘हामीले राज्यसँग ठूलो लविङ गरिराखेका छौ कि आम सञ्चार प्रतिष्ठान गठन गर । त्यो आम सञ्चार प्रतिष्ठानबाट पत्रकारिता सिक्न चाहनेहरुले पत्रकारिता सिक्ने अवसर पाउन । अहिलेसम्म सिकाउने मेकानिज्मको अभावका कारण पत्रकारिता दक्ष, मर्यादित र व्यवसायिक हुन नसकेको अवस्था हो । हिजो सरकारले ल्याएको नीति तथा कार्यक्रममा सो प्रतिष्ठानको कुरा उल्लेख गरिएको छ । यसअघिको नीति तथा कार्यक्रममा पनि आमसञ्चार प्रतिष्ठानको कुरा आएपनि त्यसको कार्यान्वयन हुन सकेको थिएन । अव ढिलाई नगरी त्यसको कार्यान्वयन हुनुपर्दछ ।’
अध्यक्ष पोखरेलले विभिन्न खालका स्वार्थ समूहहरुको प्रलोभनमा नपर्न पनि संचारकर्मीहरुलाई सचेत गरे । विभिन्न स्वार्थ समूहहरुले आफ्नो हितका लागि प्रलोभन वा दवाव दिँदा सही सूचना दिने बाटोमा ठूलो अवरोध हुने उल्लेख गर्दै उनले त्यसबाट बच्न आम सञ्चारकर्मी र मिडिया हाउसहरुलाई सचेत गरे ।