logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • अझै पाँच पालिकाको अन्तिम नतिजा आउन बाँकी, यस्तो छ अहिलेसम्मको मत परिणाम

    अझै पाँच पालिकाको अन्तिम नतिजा आउन बाँकी, यस्तो छ अहिलेसम्मको मत परिणाम

    13.5K
    Shares

    काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन सम्पन्न भएको १२ दिन पुगे पनि अझै ५ पालिकाको अन्तिम नतिजा सार्वजनिक हुन सकेको छैन । निर्वाचन आयोगका अनुसार काठमाडौँ महानगरपालिका, रौटहटको गरुडा र फतुवा विजयपुर नगरपालिका र उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना भइरहेको छ ।

    बाजुराको बूढीगङ्गा नगरपालिकामा अझै मतगणना सुरु हुन सकेको छैन । निर्वाचन आयोगका अनुसार काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ४८ हजार ४३२ मतसहित अग्रस्थानमा छन् । उनको प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सिर्जना श्रेष्ठले ३० हजार ३९७ मत प्राप्त गरेका छन् ।

    यस्तै उपप्रमुखमा नेकपा (एमाले)का सुनिता डङ्गोलले ५३ हजार ६४२ मत प्राप्त गर्दा नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले १७ हजार ७५६ मत प्राप्त गरेका छन् ।

    उदयपुरको त्रियुगा नगरपालिकाको प्रमुखमा एकीकृत समाजवादीका बलदेव चौधरी ७४४ मतसहित अग्रस्थानमा छन् । प्रतिद्वन्द्वी कांग्रेसका वसन्तकुमार बस्नेतले ३४४ मत प्राप्त गरेका छन् । उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का गीता खड्का कार्कीले ८१८ मत प्राप्त गरेका छन् भने प्रतिद्वन्द्वी कांग्रेसका सरिता राईले ३२० मत प्राप्त गरेका छन् ।

    रौतहटको गरुडा नगरपालिकको प्रमुखमा एमालेका कन्थमनी प्रसाद कलवार तीन हजार ८०७ मतका साथ अगाडि छन् । उनलाई एकीकृत समाजवादीका वृजकिशोर प्रसाद यादवले तीन हजार ४१८ मतका साथ पछ्याइरहेका छन् ।

    उपप्रमुखमा कांग्रेसका पुनमकुमारी चौधरीले पाँच हजार १४८ मत प्राप्त गर्दा जनता समाजवादी पार्टी नेपालका विन्दुकुमारी देवीले तीन हजार १६४ मत प्राप्त गरेकी छन् ।

    रौतहटकै फतुवा विजयपुर नगरपालिकाको प्रमुखमा कांग्रेसका गोपाल राय यादवले चार हजार ११७ मत प्राप्त गरी अग्रता लिइरहेका छन् । एमालेका विजय यादव दुई हजार ९२२ मतका साथ पछि छन् । उपप्रमुखमा कांग्रेसका अमवेया खातुनले चार हजार २५१ मत र एमालेका कान्ती देवीले तीन हजार २७० मत प्राप्त गरेका छन् ।

    सार्वजनिक भएको मतपरिणामअनुसार नेपाली कांग्रेस १३८ नगरपालिका र १८८ अध्यक्षसहित ३२६ स्थानमा विजयी भएको छ । जारी मतगणनामा कांग्रेस दुई स्थानमा अगाडि छ । एमाले ८१ नगरपालिका र १२३ गाउँपालिकासहित २०४ स्थानमा विजयी भएको छ । माओवादी केन्द्र २५ नगरपालिका र ९६ गाउँपालिका गरी १२१ स्थानीय तहमा विजयी भएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend