logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • ‘एक्सन’ मा हर्क मेयर, पहिलो दिनमै गरे यस्ता काम

    ‘एक्सन’ मा हर्क मेयर, पहिलो दिनमै गरे यस्ता काम

    2.7K
    Shares

    इटहरी । ‘मर्निङ सोज द डे’ भन्ने भनाइलाई धरानका नवनिर्वाचित मेयर हर्कराज राई (साम्पाङ)ले चरितार्थ गर्न थालेका छन् । सडक अभियानबाट एकाएक मेयर बन्न पुगेका हर्कले पदबहाली गरेलगत्तै पहिलो दिन बुधबार धरानी जनताले खाने पानीको मुहान क्षेत्रमा पुगेर आवश्यक सरसफाइ गराएका छन् । उनले अभियन्ताका रूपमा लामो समयदेखि धराने जनतालाई खानेपानी उपलब्ध गराउनुपर्ने विषयमा पैरवी गर्दै आइरहेका थिए ।

    यति मात्रै होइन राईले बिहीबार सम्पूर्ण धरानवासीलाई कुचो लिएर धरानको सरसफाइ गर्न आउन आह्वान गरेका छन् । उनले आपूm धराने जनतासँगै सरसफाइमा जुट्ने बताएका छन् ।

    – पहिलो दिनमै खानेपानीको मुहानमा सरसफाइ
    – आज (बिहीबार ) दोस्रो दिन कुचो लिएर सडकमा जाने
    – करोडको गाडी नचढ्ने, टेम्पो नै चढ्ने प्रतिबद्धता
    – काकाकुल धरानवासीलाई पानी खुवाएरै छोड्ने

    मेयर हर्कले बुधबार सर्दुखोलाको मुहानमा पुगेर स्थलगत अध्ययन गरेका हुन् । धरानमा पानीको हाहाकार भएकाले उनले चुनावी एजेन्डामा पनि यो विषयलाई विशेष रूपमा उठाएका थिए । उनले धरानवासीलाई आफूले जसरी पनि खानेपानी दिलाउने प्रतिबद्वता जनाउँदै आएका छन् ।

    बुधबार खानेपानी बोर्डका प्रमुख इन्जिनियर राजु पोखरेललाई निर्देशनसमेत दिए । ‘खानेपानीको मुहान अवलोकन गरी कमजोरी सच्याउने र फोहोर गर्न नदिने निर्देशन दिइयो,’ साम्पाङले भने ।

    उनले जनताको सेवक भएकाले महँगो गाडी नचढ्ने र आफूसँग भएको पुरानो मोटरसाइकल चढेर जनताको सेवा गर्नेसमेत बताए । उनले भने, ‘म करोडौं पर्ने गाडी चढेर हिँडे भने बाटोका खाल्टा र भत्केका सडक देखिँदैनन्, त्यसैले म सडकमै हिँडन चाहन्छु किनकि ती भत्केका खाडल पुर्नेछु, बिग्रिएका बाटो मर्मत गर्नेछु ।’

    यस्तै, मेयर राईले बिहीबार धरानको मुख्य चोक भानुचोकमा सरसफाइ गर्नका लागि पनि आह्वान गरे । उनले भनेका छन्, ‘भानुचोकमा झाडु लिएर आउनुहोला ! भानुचोक वरिपरि सफाइ गरौं, आइन्दा बाटोमा फोहोर फाल्न नहुने नियम लागू गर्न, गराउन सहयोग गर्नुहोला ।’ यो समाचार राजधानी दैनिकमा छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend