काठमाडौं । नेकपा माओवादी केन्द्रले निर्वाचित भएका स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ।
जेठ १८ र १९ गते काठमाडौंमा जनप्रतिनिधिका लागि प्रशिक्षणको आयोजना गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जनाकारी दिए । माओवादीले स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षलाई प्रशिक्षण दिने तयारी गरेको हो ।
जिल्ला समन्वय समिति गठन भएको अवस्थामा जिससका प्रमुख र उपप्रमुखलाई पनि कार्यक्रममा सहभागी गराइने बताइएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, शीर्ष नेता र विभिन्न क्षेत्रका विज्ञले प्रशिक्षण दिने छन् ।
निर्वाचित जनप्रतिनिधिलाई पार्टीका तर्फबाट जनताका पक्षमा जिम्मेवारीका साथ प्रस्तुत हुन निर्देशन दिइने बुझिएको छ । जनप्रतिनिधिले गर्न हुने र नहुने कामसम्बन्धी निर्देशिका पनि पार्टीले तयार गरिरहेको जनाइएको छ ।