पोखरा । पोखरा महानगरपालिकाका नवनिर्वाचित मेयर धनराज आचार्य र उपमेयर मञ्जुदेवी गुरुङले पदभार सम्हालेका छन् । उनीहरुले नयाँ ढंगबाट पदभार ग्रहण गरेका छन् । पोखरा पर्यटकीय सहर भएकाले फुलैफूलको सहरका रुपमा चिनाउन ‘सिम्बोलिक’ रुपमा फूल रोपेर पोखराको नेतृत्व सम्हालेका हुन् ।
पोखरा सभागृहमा मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईसँग सपथ ग्रहण गरेपछि पोखराका नवनिर्वाचित जनप्रतिनिधिको टोली पुष्पलाल पार्कतर्फ लाग्यो । पोखरा वडा नम्बर ७ मा रहेको उक्त पार्कमा नवनिर्वाचित मेयर धनराज आचार्य र उपमेयर मञ्जुदेवी गुरुङले माल्यार्पण गरे ।
त्यहाँबाट निस्किएर जनप्रतिनिधिले जिरोदेखि हल्लनचोकसम्मको डिभाइडरमा फूल रोपे । डिभाइडरमा महानगरका १ सय ६७ जनाले एक एकवटा फूल रोपेका छन् । ‘पोखरा विश्वकै सुन्दर सहर हो । फूल भनेको सुन्दरताको प्रतीक हो । म पोखरालाई फुलैफूलको सहर बनाउँछु,’ डिभाइडरमा फूल रोपेपछि मेयर आचार्यले भने, ‘पोखरालाई ग्रिनरी सहर बनाउने हाम्रो लक्ष्य छ ।’
मेयर आचार्यले पहिलो दिन ३ निर्णय गर्दै पदभार सम्हालेका छन् । उनले न्यून आय भएकालाई पोषणभत्ता, सिम्बोल अफ पोखरा प्रतियोगिता र पोखरालाई पर्यटककीय राजधानी बनाउन संघीय सरकारलाई प्रस्ताव गर्ने निर्णय गरेका हुन् ।
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न मेयर आचार्यले संघ सरकारलाई प्रस्ताव गर्ने बताएका छन् ।
सामान्य प्रशासन मन्त्रालय हुँदै संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयमा प्रस्ताव पठाउने आचार्यले योजना सुनाएका छन् । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न यसअघिका मेयर मानबहादुर जिसीले पनि प्रयास गरेका थिए । यस विषयमा गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्ले निर्णय नै गरिसकेको छ । तर, संघ सरकारबाट निर्णय भने हुन सकेको छैन ।
मेयर आचार्यले न्यून आय भएका परिवारलाई पोषण भत्ता उपलब्ध गराउने निर्णय गरेका छन् । न्यून आय भएका व्यक्तिलाई वडाको सिफारिसका आधारमा पोषणभत्ता दिने घोषणा भए पनि अन्य निर्णय भने हुन बाँकी छ ।
त्यस्तै, मेयर आचार्यले पोखरालाई चिनाउन ‘सिम्बोल अफ पोखरा’ प्रतियोगितासमेत आह्वान गरेका छन् ।
आगामी बजेटमा व्यवस्था गर्ने गरी २ लाख रुपैयाँ पुरस्कार राशीसमेत तोकिएको छ । प्रतियोगिताको अवधि २ महिनाको हुनेछ ।
‘अक्सफर्ड युनिभर्सिटी जाँदा त्यहाँ उसको सिम्बोल छ । पेरिसको छ । पोखरा चिनाउन यहाँ पनि त्यस्तै बनाउने छौं,’ मेयर आचार्यले भने, ‘त्यसका लागि क्रियटिभ युवालाई आह्वान गरिने छ । यो एक वर्षभित्र बनाउने योजना छ । समय एक महिना तोकिएको छ ।’
नवनिर्वाचित उपमेयर मञ्जुदेवी गुरुङले महानगरका अपाङ्गता भएका बालबालिकाहरुलाई शिक्षामा समान पहुँच स्थापित गर्ने र महिला हिंसाविरुद्ध पुरुषको ऐक्यवद्धताका लागि महिला पुरुष समचेतना कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेकी छन् ।