
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्रको सम्बद्र्धन एवम् उन्नयन गर्ने विषयलाई सरकारको नीति तथा कार्यक्रममार्फत सम्बोधन गरिएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै उनले नीति कार्यक्रममा अपुग भएका विषयलाई प्रधानमन्त्रीले सम्बोधनका क्रममा समेट्नुहुने विश्वास व्यक्त गरे । राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १० गते सरकारको आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थियो ।
राजनीतिक दलकाबीचमा साझा धारणा निर्माण गरी सहकार्यको वातावरण बनाउनुपर्नेमा जोड दिँदै उनले राष्ट्रिय समस्या समाधानका लागि पनि सबै राजनीतिक दलबीच एकता हुनुपर्नेमा जोड दिए । एक अर्कालाई दोषारोपण गरेर मात्रै समस्याको समाधान नहुने उल्लेख गर्दै उनले मुलुकको समस्या समाधानका लागि साझा प्रयास, संकल्प आवश्यक रहेको उल्लेख गरे ।
“देशको विद्यमान समस्या समाधान गर्नका लागि एकै ठाँउमा उभिनुपर्ने बेला राजनीतिक दल एक आपसमा घोचपेच गर्ने, दोषारोपण गर्नेतर्फ लागेकामा मलाई चिन्ता लागेको छ”, पूर्वप्रधानमन्त्री दाहालले भने, “स्थानीय तहको निर्वाचनमा कुन राजनीतिक दलको सिट कति बढ्यो वा घट्यो भन्दा पनि संविधान कार्यान्वयनको प्रक्रिया अगाडि बढ्यो वा बढेन भन्ने विषय नै यतिबेलाको प्रमुख विषय हो ।”
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend