logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • सांसद महतले सभामुखलाई तालाचाबी बुझाएपछि…

    सांसद महतले सभामुखलाई तालाचाबी बुझाएपछि…

    5.5K
    Shares

    काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद गजेन्द्र महतले प्रतीकात्मक रूपमा सभामुख अग्निप्रसाद सापकोटालाई तालाचाबी बुझाएका छन् ।

    प्रमुख प्रतिपक्षीले आफ्ना कुरा सुनाउने र अर्काको कुरा नसुन्ने प्रवृत्ति देखिएको भन्दै विरोधस्वरूप प्रतीकात्मक रूपमा सभामुखलाई तालाचाबी बुझाएको उनले बताए । तीन घण्टासम्म आफ्नो कुरा सुनाउनेले अर्काले बोल्ने बेला अवरोध गरेको सांसद महतको भनाइ छ ।

    शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आफ्नो धारणा राख्दा नेकपा (एमाले)का सांसदले अवरोध गरेका थिए । विवाद बढ्दै गएपछि सभामुख सापकोटाले प्रयोग गरिएको अमर्यादित शब्द हटाउने निर्णय गर्नुपरेको थियो ।

    सांसद महतले भने, “प्रतिपक्षीको व्यवहार हेर्दा बोल्न पाइँदैन कि भन्ने त्रासमा थिएँ । म अहिले पनि अलि मोटो र ठूलो स्वर गर्ने हो भने अवरोध आउँछ कि भन्ने चिन्तामै छु । उहाँहरू धीत मरुञ्जेल तीन घण्टा गाली गर्नुहुन्छ । र, धीत मरिसकेपछि यसलाई अवरोध गर्न खोज्नुहुन्छ । फेरि ताला लगाउन खोज्नुहुन्छ ।”

    उनले आफूले ताला र चाबी ल्याएको उल्लेख गरे । उनले भने, “तपाईंहरू धीत मरुञ्जेल बोल्नुहोला । त्यसपछि हामी बोल्दा यो ताला र चाबी लगाइदिनुहोला । जति बेला बोल्न मन लाग्छ आउनुहोला र यो तालाचाबी खोल्नुहोला अनि बोल्नुहोला । मैले सभामुखज्यूलाई बुझाएँ ।”

    गाली गर्नेलाई संसद्मा बोल्न तीन घण्टा र कर्णालीको आवाज बोल्नेलाई तीन मिनेट छुट्ट्याइएकामा सांसद महतले आपत्ति प्रकट गरे । -रासस

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend