काठमाडौं । काठमाडौं महानगरपालिका भित्र रहेका रेष्टुरेण्टहरुका शौचालयलाई सार्वजनिक शौचालय बनाउने प्रस्ताव महानगर कार्यपालिकामा प्रस्तुत गरिएको छ ।
काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले महानगरभित्र रहेका रेष्टुरेण्टका शौचालयलाई सर्वसाधारणले सहज र निःशुल्क प्रयोग गर्न पाउने व्यवस्था गर्ने प्रस्ताव गरेका हुन् ।
कार्यपालिकाको जारी बैठकमा प्रस्ताव पेश गर्दै शाहले केही रेष्टुरेण्ट व्यवसायीहरुसँग अनौपचारिक छलफलका क्रममा आफूले सकारात्मक प्रतिक्रिया पाएको बताए ।
मेयर शाहको प्रस्ताव अनुसार महानगरको प्रस्तावमा सहमत रेष्टुरेण्टहरुमा शौचलय प्रयोग गर्न सकिने संकेत बोर्ड राखिनेछ ।
रेष्टुरेण्टमा अन्य सेवा नलिएको सर्वसाधारणले पनि शौचालय प्रयोग गर्न पाउने गरी व्यवस्था हुने शाहको भनाइ छ ।
उनले महानगरले सार्वजनिक स्थलमा शौचालय निर्माणको क्रमलाई पनि निरन्तरता दिने बताए ।