काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटको मूल दिशा ठिक रहेको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै नेता रिजालले अहिलेको अवस्थामा यो भन्दा पृथक ढंगले बजेट आउन नसक्ने दावी समेत गरे ।
उनले ठिक प्राथमिकतालाई समेटेर बजेट ल्याएको भन्दै अर्थमन्त्री जनार्दन शर्मालाई धन्यवाद समेत व्यक्त गरे । पूर्वमन्त्री समेत रहनु भएका नेता रिजालले अघिल्लो वर्ष आफूले ल्याएको बजेटलाई हेरेर मात्रै आगामी आर्थिक वर्षको बजेटबारे टिप्पणी गर्न प्रमुख प्रतिपक्ष दल एमालेलाई आग्रह समेत गरे । कोभिडले थलिएको बेला अघिल्लो वर्ष सरकारले आर्थिक वृद्धिदर ६.५ प्रतिशत वृद्धि हुन्छ भन्दा ठिक हुने तर अहिलेको सरकारले ८ प्रतिशत वृद्धि हुन्छ भन्दा आलोचना गर्न एमालेले नमिल्ने नेता रिजालले तर्क समेत गरे । उनले भने, ‘बजेटको मूल दिशा ठिक छ । बजेट यो अवस्था यो भन्दा पृथक ढंगले आउन सक्ने थिएन । जस्तो आउनेपर्ने थियो, त्यहि आएको छ । मैले अर्थमन्त्रीलाई मूलतः धन्यवाद दिनुपर्दछ । किनकी ठिक प्राथमिकतालाई समेटेर बजेट ल्याउनु भएको छ । तथापि मलाई पनि केही विषयमा टिप्पणी गर्ने मन थियो । पोहोर साल उहाँले बजेटको विवरण संसद होईन, संसद बाहिर प्रस्तुत गर्दा आज बोलेकै कुरा सम्झिएर प्रस्तुत गरेको भए कति राम्रो हुने थियो । उहाँले त्यसबेला अर्थमन्त्री ६.५ प्रतिशतले वृद्धि हुनेछ भन्नु भयो । कोभिडले थलिएको थियो मुलुक । खोप लगाउनु सुरु पनि गरिएको थिएन । आज ८ भन्दा उहाँलाई अचम्म जस्तो लाग्यो । मैले यति भन्छु–भूमिका बदलिएको छ ।’
नेता रिजालले एमालेको भूमिका सत्तापक्षबाट प्रतिपक्षमा बदलिए तर बजेटको प्राथमिकता भने नबदलिएको बताए ।