काठमाडौं । अभिनेत्री मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका फुर्वा लामा रिहा भएका छन् । कबड्डी–४ की नायिका मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेका फुर्वा लामासँग ३ हजार धरौटी माग भएको थियाे । काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोविन्द प्रसाद रिजालले उनलाई ३ हजार धरौटीमा रिहा गर्न आदेश दिएका हुन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले बौद्ध भिक्षु समेत रहेका मुगुका लामालाई मंगलबार रिहा गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।
लामाले काठमाडौं सुन्धारास्थित सिभिल मलको कफी सपमा आफूमाथि दुर्व्यवहार गरेको भन्दै ‘कबड्डी ४’ फिल्मकी नायिका समेत रहेकी मगरले प्रहरीमा उजुरी दिएकी थिइन् ।
प्रदर्शनमै रहेको चलचित्र ‘कबड्डी ४’ की नायिका मिरुना मगरले निर्दोष व्याक्तिलाई फसाउन खोजेको भन्दै आक्रोशित बनेका युवाले चलचित्र प्रदर्शनमा रोक लगाएका छन् । नायिका मगर विरुद्ध चाबहिलस्थित चलचित्र प्रदर्शन स्थलमा बिहानैदेखी नायिकाको विरोध गरेका थिए ।