काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक धिरजप्रताप सिंहले आफ्नो कार्यकालमा निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणलाई टुंगोमा पुर्याउने बताएका छन् । बिहीवार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा महानिरीक्षक सिंहले नेपाल प्रहरी आलोचित बनिरहेको निर्मला पन्त हत्याको विषयलाई टुंगो लगाउने काम आफ्नो प्राथमिकतामा रहेको बताएका हुन् ।
उनले प्रहरीको सरुवा बढुवामा अनावश्यक चलखेल बन्द गर्ने प्रतिवद्धता समेत जनाएका छन् । आफ्नो कार्यकालमा हुने सबै सरुवा÷बढुवा उत्कृष्टताको आधारमा मात्रै गर्ने उनको भनाई छ । प्रहरी संगठनभित्र ब्याच छलेर तथा ब्याचका कनिष्ठलाई टिपेर सरुवा र बढुवामा प्राथमिकतामा दिने अवस्थाको अन्त्य गर्ने उनले बताए ।
महानिरीक्षक सिंहले आफ्नो ब्याचमा उत्कृष्ट हुने व्यक्तिले नै सरुवा र बढुवामा प्राथमिकता दिनेगरी आफूले काम गर्ने प्रतिवद्धता जनाए । महानिरीक्षक सिंहले अघिल्ला महानिरीक्षकहरुले प्राथमिकतामा राखेर अघि बढाएका कामहरुलाई आफूले निरन्तरता दिने पनि बताए ।
नेपाल सरकारले सिंहलाई गत वैशाख १८ गते प्रहरी महानिरीक्षकमा नियुक्ति गरेको थियो । सिंहलाई महानिरीक्षकमा नियुक्त गरेसँगै दाबेदार मानिएका अतिरिक्त महानिरीक्षकहरुले सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।
यसको टुंगो अझै लागिसकेको छैन । महानिरीक्षक सिंहले आईजीपीको कार्यभार सम्हालेको आज एक महिना पुरा भएको छ ।