काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टीबाट विद्रोह गरेर गएका नेता कार्यकर्ताहरुलाई पार्टीमा फर्किन आव्हान गरेका छन् ।
शुक्रबार केन्द्रीय समितिको १३ औँ पूर्ण बैठकका निर्णयहरु सार्वजनिक गर्न काठमाडौँमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महासचिव विप्लवले पार्टीबाट विद्रोह गरी नयाँ पार्टी गठन गरेका पूर्वसचिवालय सदस्यहरु धर्मेन्द्र बास्तोला कञ्चन र हेमन्तप्रकाश वली सुर्दशनलाई पार्टीमा फर्किन आव्हान गरेका हुन् ।
गल्ती स्वीकार गरेर आत्मआलोचना गरी पार्टीमा फर्किन उनले आग्रह गरे । उनले बास्तोला र कञ्चनले गठन गरेको पार्टीको डकुमेन्टमा कुनै नयाँ कुरा नभएको उल्लेख गर्दै उत्तेजना र कुण्ठाबाट क्रान्ति नआउने बताए ।
महासचिव विप्लवले नेपालको क्रान्तिकारी आन्दोलनलाई गोलबन्द गर्न सबैले ध्यान दिनुपर्ने उनको भनाई छ ।
‘सबै कुराहरुलाई केन्द्रीत गर्दै राष्ट्रिय स्वाधिनताको आन्दोलन चलाउने । हाम्रा ६ दलका मित्रहरुसँग सहकार्य गर्ने । ठिक छ, आउनुस् सुर्दशन र कञ्चनजीलाई पनि हामीले भन्यौँ गल्तीहरु स्वीकार्नुस् । मान्छेबाट गल्ती हुन्छ । तपाईहरु गल्तीबाट आत्मआलोचना गर्नुस् । बाहिर जे जति बबन्डर मच्चाउनु भएको छ, त्यो फेर्नुस् । सुध्रिनुस् । मैले हेरेँ, चितवनबाट उहाँहरुले डकुमेन्ट निकाल्नुभएछ । मैले दाँजेर पढे । उहाँ बडो क्रान्ति गर्न गएको । के छ चितवनको डकुमेन्टमा ?’ उनले भने ।
महासचिव विप्लवले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकताको कुरा गरिराख्ने भन्दै प्रचण्डलाई पनि पुरानो ठाउँबाट फर्किन आग्रह गरे । उनले माओवादी जनतालाई अलमल र भुमरीमा नफसाई परिवर्तनतिर लैजाने गरी आएमा आफुहरु एकताका लागि तयार रहेको बताए । उनले लहैलहैमा लागेर पार्टी छाडेका कार्यकर्ताहरुलाई पनि पार्टीमा फर्किन अपील गरे ।
‘प्रचण्डजीलाई पनि हामीले भनेका थियौँ, उहाँ एकताको कुरा गरिराख्नु हुन्छ । तपाई पुरानो ठाउँबाट फर्किनुस् न । माओवादी केन्द्र सँगका साथीहरुसँग साच्चिकै छलफल हुन्छ । तपाईहरु पुरानो ठाउँबाट फर्किनुस् । नेपाली जनतालाई पछाडीतिर धकेल्ने होइन । नेपाली जनतालाई अलमल र भुमरीको चक्करमा फसाउने होइन । निकासतिर, परिवर्तनतिर लैजाने गरी आउनुस् । हामी तयारै छौँ ।’ उनले भने ।
नेपाल कम्युनिष्ट पार्टीले आगामी असोज १ गतेदेखि ८ गतेसम्म काठमाडौंमा नवौँ महाधिवेशन गर्ने भएको छ । महाधिवेशन अगाडी भदौ ५ गतेसम्म वडा र पालिका सम्मेलन तथा भदौ १५ गतेभित्र जिल्ला सम्मेलन सम्पन्न गरिने जनाइएको छ ।