logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • यसबर्ष पनि मलको अभाव उस्तै, उत्पादन घट्ने किसानको चिन्ता, सरकार भन्छ– असारे खेतीका लागि मल अभाव हुँदैन

    यसबर्ष पनि मलको अभाव उस्तै, उत्पादन घट्ने किसानको चिन्ता, सरकार भन्छ– असारे खेतीका लागि मल अभाव हुँदैन

    5.8K
    Shares

    दाङ । देशैभर मलको अभाव चर्किएको छ । किसानहरुले मल अभावका कारण मकैमा मल राख्न पाएका छैनन् भने धानको बीउको ब्याड राख्न पनि पाएका छैनन् । दाङका किसान पनि मल नपाउँदा धानको बिउका लागि ब्याड राख्न नपाएको गुनासो गर्छन् ।

    धानको बीउका लागि ब्याड राख्नुपर्ने र मकैमा मल आवश्यक परिसक्दा पनि मल नपाएको तुलसीपुर उपमहानगरपालिका–१६ का किसान यज्ञबहादुर चौधरीको गुनासो छ । ‘गएको वर्ष पनि समयमै मल नपाएपछि युरिया मलबिना मकै गोडेका हौं, मलबिना धान रोप्यौ’, उनले भने, ‘यस वर्ष पनि समस्या त्यस्तै छ ।’ मल पाउने आशामा किसान दैनिक सहकारी संस्थामा धाउने गरेका छन् । मल अभावका कारण समयमै खेतीपाती गर्न नपाएमा उत्पादन घट्ने चिन्ता किसानको छ ।

    किसानको माग अनुसार रासायनिक मल उपलब्ध गराउन नसकेको कृषि सामग्री कम्पनी लिमिटेड तुलसीपुर शाखा प्रमुख तीर्थराज न्यौपानेले बताएका छन्। आलोपालो गरेर सहकारीमार्फत रासायनिक मल वितरण गर्दै आएको भए पनि अझै अभाव रहेको उनले बताए । नेपालमा वार्षिक आठ लाख मेट्रिक टन रासायनिक मल आवश्यकता पर्ने भए पनि वार्षिक तीनदेखि चार लाख मेट्रिक टन मात्रै रासायनिक मल आयात हुने भएकाले यस्तो समस्या आउने गरेको हो ।

    न्यौपानेका अनुसार दाङमा मात्रै सबै बालीको लागि वार्षिक युरिया १५ हजार मेट्रिक टन र डिएपी १० हजार मेट्रिक टन आवश्यक पर्छ । कोभिडपछि अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य रु ३०० देखि ३५० प्रतिशतले वृद्धि भएको बताउँदै न्यौपानेले मल खरिदका लागि यो वर्ष कृषि सामग्री कम्पनी लिमिटेडले आह्वान गरेको आठ वटा अन्तर्राष्ट्रियस्तरका ग्लोबल टेण्डर नपरेकाले पनि समस्या भएको जानकारी दिए ।

    दाङका लागि कृषि ज्ञान केन्द्रले ४९७ मेट्रिक टन मल उपलब्ध गराएको थियो । दाङका तीन वटा कृषि सामग्री कम्पनीबाट ती मल वितरण गरिन्छ । कृषि सामग्री कम्पनी लिमिटेड तुलसीपुरका लागि २२६ मेट्रिक टन डिएपी मल आवश्यक पर्नेमा ५०–६० टन मात्रै आउन बाँकी रहेको प्रमुख न्यौपानेले बताए । कृषि सामग्री लिमिटेड तुलसीपुरले तुलसीपुर उपमहानगरपालिका, शान्तिनगर गाउँपालिका, दङ्गीशरण गाउँपालिका र बबई गाउँपालिकासँग समन्वय गरेर वितरण गरिरहेको छ ।

    त्यस्तै अहिले दाङमा डिएपी मल केही मात्रामा पाइए पनि युरिया मल भने जिल्लामै नभएको कृषि सामग्री कम्पनी लिमिटेड तुलसीपुर शाखा प्रमुख तीर्थराज न्यौपानेले बताए । उनका अनुसार अहिलेको अवस्थामा दाङलगायत देशैभरि युरिया मलको अभाव छ तर साल्टट्रेडिङ कर्पोरेशनबाट युरिया र डिएपी मल ल्याउने प्रक्रिया भइरहेको छ। असारको पहिलो सातासम्म मल आउन सक्ने सम्भावना छ ।

    खेतीपातीको समय नजिकिँदै गर्दा रासायनिक मलको अभाव हुँदा किसानलाई बर्सेनि सास्ती हुने गरेको छ ।

    नेपाल सरकारले ५० हजार मेट्रिक टन मल आयातको लागि बोलपत्र गरेकाले असार महिनाभित्र मल प्राप्त हुने अपेक्षा गरिएको उनले बताए । यता, सरकार भने बोलपत्र नपरे पनि भारतबाट (जिटुजी) अन्तर्गत मल आयात गर्ने सहमति भएकाले धानखेतीको समयमा मलको हाहाकार नहुने बताउँदै आएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend